logo
  • शनिबार, असोज १७ २०८३

स्थानीय अवरोधका कारण बञ्चरेडाँडामा फोहर बिसर्जन रोकियो


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १२ २०८२

 स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर  बिसर्जनमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर बिसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी  बिसर्जन नगरी फर्किएका छन् ।

फोहर बिसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्नेलगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ ।

ककनी गाँउपालिका–१ र २ तथा  धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर बिसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ ।

स्थानीयहरुले विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर  बिसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जनपश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् ।

आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले स्वःस्फूर्तरूपमा सङ्गठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहर  बिसर्जनको अवरोधमा ककनी र धुनबेँसीका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend