पब्लिक सूचना
सिन्धुली जिल्लाको सुनकोसी गढ्तिर क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा बैंस हराउने अवस्थामा पुगेका छन् ।
पूर्व–पश्चिम राजमार्ग खुल्नुअघि पूर्वी पहाडी तथा तराईका जिल्लाबाट नेपाल(काठमाडाैं) प्रवेश गर्ने पैदल मार्गका रुपमा अत्याधिक व्यस्त रहने त्यस क्षेत्रका पाटीपौवाहरु यतिखेर सधैँ नै सुनसान अवस्थामा रहने गरेका छन् । बटुवाका निम्ति बस्न सुविधा होस र राणाकालीन बडाहाकिम दौडाहा आउदा बस्ने व्यवस्थाका लागि त्यस्ता पाटीहरु वि.सं. १९५० सालतिर निर्माण गरेको स्थानीय बताउँछन् ।
सुनकोसी गाँउपालिका अन्तर्गत सुनकोसी गढ्तिर क्षेत्रको सित्तलपाटी, चैनपुर, मुलकोट, गुठबजार नेपालथोक र गोलन्जोर गाँउपालिका अन्तर्गत खुर्कोट र सुलिभञ्ज्याङ्मा गरी झण्डै एक दर्जन ऐतिहासिक पाटीपौवा र सत्तल रहेका छन् । कतिपय पाटीपौवा संरक्षणको अवभावमा जीर्ण भई भत्किएर लोप भई सकेका छन् भने कतिपयको मर्मत गरी संरक्षण भएपनि प्रयोगमा आउन नसकि रहेको सुनकोसी गाँउपालिका–६ चैनपुर निवासी कैलास पौडेल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘यस वडामा रहेका तीन वटा ऐतिहासिक पाटीहरु मध्ये दुई वर्षअघि माले पाटी र सित्तलपाटी पुरातत्व विभागले मर्मत गरी संरक्षण गरेको छ । बाँकी चैनपुरमा रहेको पाटी जीर्ण भई भत्किन थालेको छ । त्यसको मर्मत गरी संरक्षण गर्न कतैबाट चासो लिएको पाईदैन ।’ ऐतिहासिक प्रचिन त्यस्ता सम्पदाहरु संरक्षण गर्न स्थानीय सरकारले खासै चासो नदिएको उहाँको गुनासो छ ।
स्थानीयका अनुसार पूर्व–पश्चिम राजमार्ग र बिपी राजमार्ग निर्माण हुनु अघि मानिसको निकै चहलपहल हुने ती पाटीपौवाहरु राजमार्ग निर्माणसँगै ओझेलमा परेका हुन् । प्रचार प्रसारको अभावमा बिपी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाहिय पर्यटकबाट समेत बेखबर छन्, ती पाटीपौवाहरु । समयको विकास क्रमसँगै अहिले ती सम्पदाको अस्तित्व सङ्कटमा परेको छ ।
जिल्लाको सुनकोसी गढ्तीर क्षेत्रमा बाक्लै रुपमा पाटीहरु रहेका छन् । ती पाटीहरुमा कुदिएका कलात्मक टुँडाल र भ्mयालढोकाहरुले तत्कालिन बास्तुकलाको राम्रो छनक दिएका छन् । सिन्धुली जिल्ला पनि बास्तुकलाको क्षेत्रमा अगाडी थियो भन्ने दह्रो प्रमाण यि हुन् । तर त्यस्ता कुराको खोजविन र अनुसन्धानको निम्ति ऐतिहासिक बिषय बस्तुको संरक्षण गर्नु आजको आवश्यकता देखिएको गोलन्जोर गाँउपालिका–७ खुर्कोट निवासी शरद आचार्य बताउनुहुन्छ ।
‘अहिले सुनकोसी गढ्तिर क्षेत्र हुदै जापान सरकारको सहयोगमा पर्यटकिय बीपी राजमार्ग निर्माण भएर सञ्चालनमा आएको छ,’ उहाँले भन्नुभयो, ‘राजमार्ग निर्माणसँगै आसपासमा सुविधा सम्पन्न रिसोर्ट र होटल खुल्ने क्रम बढेको । अब पर्यटन प्रबद्र्धन मार्फत बीपी राजमार्गले नै त्यस क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा र सम्पदाहरुको महत्व ब्युताउन सक्छ अर्थात गुमेको बैंस फर्काउन सक्छ ।’
त्यस्तै सुनकोसी गाँउपालिकाको दुम्जामा रहेका पाँच पाटीमध्ये कुशेश्वर महादेव मन्दिरमा रहेका दुई पाटी पुरातत्व विभागको रेखदेखमा संरक्षण हुदै आएका छन् । अन्य दुई पाटीको अस्तित्व लोप भइसकेको छ भने अर्को एक जीर्ण अवस्थामा रहेको स्थानीय बासिन्दा बताउछन् ।
सुनकोसी गाँउपालिकाका उपाध्यक्ष कपिल कोईराला बागमती प्रदेश सरकारको सहयोगमा त्यस्ता पाटीपौवाको मर्मत र घेराबेरा गरी सरक्षण हुदै आएको बताउनुहुन्छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend