पब्लिक सूचना
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामै विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षा सुधारका लागि विभिन्न नीतिगत निर्णय गर्नुभएको छ । असोज ५ गते मन्त्री पदमा नियुक्त भएपछि उहाँले सिटिइभिटीका समस्या समाधानदेखि पाठ्यक्रम सुधार र विश्वविद्यालय सुधारसम्मका कदम चाल्नुभएको हो ।
मन्त्री पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा देखिएका समस्या समाधान गर्न दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्नुभएको छ । हाल सिटिइभिटीमा ४४२ वटा सम्बन्धनका निवेदन परेका छन् ।
विद्यालय तहमा माध्यमिक स्तरसम्म कम्प्युटर विषयलाई १०० पूर्णाङ्कको रूपमा अनिवार्य गर्ने, दुर्गम क्षेत्रका विद्यार्थीका लागि शिक्षक दरबन्दी र लाइसेन्सको व्यवस्था गर्ने, साथै नैतिक शिक्षा, पूर्वव्यावसायिक शिक्षा, इतिहास र संविधानका विषयलाई पाठ्यक्रममा समावेश गर्ने निर्णय भएको छ ।
शिक्षकको तलब रोकिएको गुनासोपछि छानबिन अघि बढाइएको छ भने प्रधानाध्यापक चयन र शिक्षक सरुवा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउने कार्यविधि संशोधन पनि सुरु गरिएको छ ।
विश्वविद्यालयहरूलाई राजनीतीकरणमुक्त बनाउन पहल भइरहेको छ । यसका लागि कुलपतिको भूमिकाबाट प्रधानमन्त्रीलाई हटाउने विषयमा छलफल भइरहेको र खाली रहेका पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्री पुनले बताउनुभयो ।
परीक्षाफल प्रकाशनमा हुने ढिलाइ रोक्न तीन महिनाभन्दा बढी ढिलासुस्ती गर्ने विभागको अनुदान रोक्का गर्ने व्यवस्था गरिएको छ । त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।
मन्त्री पुनले विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टै गठन गर्ने पहल सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार देशको आर्थिक विकास र नवप्रवर्तनका लागि छुट्टै र बलियो मन्त्रालय आवश्यक छ ।
यसैबीच, वैज्ञानिक दृष्टिले छठ पर्वको पनि विशेष महत्व रहेको डा. वंशीधर मिश्रले बताउनुभएको छ । उहाँका अनुसार सूर्यको किरणमा पाइने भिटामिन ‘डी’ ले जीवजन्तुहरूलाई जीवन प्रदान गर्ने भएकाले सूर्य आराधनासँग स्वास्थ्य लाभको जनविश्वास जोडिएको छ ।
काठमाडौँ महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ वटा स्थान निर्धारण गरेको छ । कमलपोखरी, गौरीघाट, बोक्सीदह, तीनकुने दोभान, टङ्केश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटमा पूजास्थल निर्धारण गरिएको छ । छठ व्यवस्थापन र सरसफाइका लागि ३५० कर्मचारी खटाइएको महानगर प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend