पब्लिक सूचना
नेपालगन्ज — पश्चिम नेपालको प्रमुख विमानस्थल नेपालगन्जमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण कार्य समयभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ। दुई तल्ले यस नयाँ भवनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक पूर्वाधार, भन्सार, अध्यागमन र क्वारेन्टाइन सुविधा निर्माण गरिएको छ।
शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते तीन अर्ब नौ करोड रुपैयाँमा सम्झौता गरी २०८२ साल पुससम्म भवन निर्माण गर्ने योजना बनाएको थियो। तर निर्माण कम्पनीका अनुसार तीन सय जनाशक्तिको सक्रिय कामका कारण भवन सम्झौताभन्दा पहिले नै तयार भएको हो। निर्माण सम्पन्न भए लगत्तै तिहारपछि भवन हस्तान्तरण गरिने तयारी भएको छ।
आयोजनाका प्रमुख नलविक्रम थापाले भवन हस्तान्तरणका लागि सबै प्रक्रिया पूरा भइरहेको र केही दिनभित्रै नयाँ टर्मिनल प्रयोगमा आउन सक्ने जानकारी दिनुभयो। भवनको अन्डरग्राउन्ड भागमा सर्वसाधारणका लागि विभिन्न पसलहरू सञ्चालन हुने व्यवस्था पनि गरिएको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले चार दशक पुरानो विमानस्थलको स्तरोन्नतिपछि अब यस क्षेत्रबाट भारतका ठूला सहरमा उडान संचालन गर्न सहज हुने बताएका छन्। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि नयाँ टर्मिनल निर्माणपछि अन्तर्राष्ट्रिय उडान सम्भव हुने उल्लेख गर्नुभयो।
नेपालगन्ज विमानस्थल २०३७ सालमा स्थापना भएको थियो र हाल यसबाट सङ्घीय राजधानी काठमाडौंसहित कर्णालीका विभिन्न पहाडी जिल्लामा नियमित उडानहरू सञ्चालन हुँदै आएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend