पब्लिक सूचना
समुदायको सहभागिता बिना विपद् न्यूनीकरण असम्भव: गृहमन्त्री अर्याल
काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको सक्रिय सहभागिता बिना नेपालमा विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै सबै तहमा समन्वय, सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभएको छ। उहाँले भौगोलिक रूपमा सुन्दर भए पनि उच्च जोखिमयुक्त क्षेत्र रहेको नेपालमा विगतका ठूला भूकम्प, बाढी र पहिरोले देशलाई ठुलो क्षति पुर्याएको स्मरण गराउँदै सरकार विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०२५ को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा इसिमोड, खुमलटारमा चौथो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा कार्यकारी निर्देशक दिनेश भट्टले प्राकृतिक विपद् बढ्दै गएको अवस्थामा विकास निर्माणका काममा विपद् व्यवस्थापन अवधारणालाई समावेश गर्न आवश्यक रहेको बताए।
नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले पूर्वसूचना, समुदायमा आधारित समाधान र लैङ्गिकमैत्री अभ्यासहरूको आदानप्रदानका लागि सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले सम्मेलनले प्रविधिको उपयोग, स्रोत व्यवस्थापन र विपद् पूर्वतयारीमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए।
रोशनकुमारी श्रेष्ठले यस सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि जोखिम मूल्याङ्कन, ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्। सम्मेलनले नीति निर्माणकर्ता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूलाई अनुभव र नवीन अभ्यास साटासाट गर्ने प्रमुख प्लेटफर्मको रूपमा काम गर्ने जनाएको छ। आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend