पब्लिक सूचना
काठमाडौं, असोज २३ – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। १५१औं विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको ‘हुलाक टिकटमा टाँचा प्रदान तथा बृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रम’मा उहाँले हुलाकको ऐतिहासिक योगदान र यसको निरन्तर महत्वबारे जोड दिनुभयो।
‘नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आयोजित कार्यक्रममा मन्त्री खरेलले भन्नुभयो, “हुलाकको सार्थकता मरेको छैन, यसलाई समयअनुकूल परिमार्जन गर्दै स्मार्ट र विश्वव्यापी बनाउनुपर्छ।” उहाँले नागरिक, समुदाय र परिवारको तहसम्म हुलाक सेवा पु¥याउनुपर्ने बताउनुभयो।
कार्यक्रममा डा. हर्ष बहादुर बुढा मगर, महोत्तरीको लक्ष्मीनारायण मठ मटिहनी मन्दिर, मुस्ताङको सिजा झोङ गुफा, आइसीसी पुरुष विश्वकप र महिला अन्डर–१९ विश्वकपका नेपाली खेलाडीहरूलाई समर्पित चारवटा हुलाक टिकट सार्वजनिक गरियो।
सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले एआई प्रविधिले हुलाक क्षेत्रमा नयाँ अवसरहरू ल्याएको बताउनुभयो भने हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाकलाई स्मार्ट प्रणालीमा रूपान्तरण गरी नागरिकको दैलोसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend