पब्लिक सूचना
तनहुँ, असार ३१ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ३८ प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३८ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको आयोजनाले जनाएको छ । यस अन्तर्गत हाल मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङको निर्माण पुरा भइसकेको छ । बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् । पानी लैजाने मुख्य सुरुङको एक हजार चार सय ५६ मिटर मध्य पाँच सय मिटर मात्रै छिचोल्न बाँकी रहेको शिल्पाकारले बताउनुभयो । सुरुङ, विद्युत् गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार तेस्रो प्याकेज अन्तर्गत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ । टावर फाउन्डेसन कार्य अन्तिम चरणमा पुगेकाे शिल्पाकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआब्जा निर्धारण भई वितरण समेत ९८ प्रतिशत पुरा भएको शिल्पाकारले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो । आयोजनाको विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend