पब्लिक सूचना
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ । व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उहाँले नागरिक उन्मुक्ति पार्टीबाट आज अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गर्नुभएको हो।
“मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखेँ । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो”, चौधरीले भन्नुभयो, “तर व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न सकेन ।”
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुस्मनी नरहेको जिकिर गर्दै उहाँले पार्टीमा रहेका फटहाहरुको कारण व्यक्तिगत रुपमा अलमलिनुभन्दा बाटो बद्लेको बताउनुभयो।
नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा भएको आन्तरिक विवादलाई आफूले सम्झन पनि नचाहेको उहाँले उल्लेख गर्नुभयो । चौधरीले भन्नुभयो, “बरु म जेलमा हुँदा दुई घण्टा भएपनि निदाए तर, बाहिर सकेन । कयौं रात अनिदो बितेका छन् ।”
आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उहाँले आजको दिनबाट नयाँ दल र सङ्गठन निर्माणमा जुट्ने बताउनुभयो । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने र त्यसको चुनाव चिन्ह पहिचानकै रहने उल्लेख गर्नु भएको छ । आफूलाई राजनीति गर्ने अधिकार रहेको भन्दै उहाँले आफ्नो आन्दोलन र भावनालाई बुझ्नेहरु आफूसंगै रहने बताउनुभयो । उहाँले भन्नुभयो,“मलाई ठग होइन, मेरो पार्टी र पहिचानको आन्दोलन बुझ्ने कार्यकर्ता चाहिएको छ ।”
टीकापुर घटनामा दोषी ठहर भइ रेशम जेलमा रहेको बेला २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । स्थापनाको छोटो समयमै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले अपल्पनीय जित हात पारेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend