logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीको राजीनामापछि देश नयाँ राजनीतिक मोडमा प्रवेश


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २६ २०८२

प्रधानमन्त्रीको राजीनामापछि देश नयाँ राजनीतिक मोडमा, जेनजी अभियानसँगै संवाद तीव्र

काठमाडौं । जेनजी अभियानका प्रदर्शनसँगै प्रधानमन्त्रीले पदबाट राजीनामा दिएपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध भदौ २३ र २४ गते भएको प्रदर्शनपछि सरकार ढलेसँगै मुलुकलाई निकास दिन विभिन्न पक्षबीच संवाद सुरु भएको हो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र सेनापति अशोकराज सिग्देलबीच राजनीतिक समाधानको उपायबारे निरन्तर छलफल भइरहेको छ । राष्ट्रपति र सेनापतिकाबीचको छलफलमा जेनजी पुस्तालाई विश्वासमा लिएर सहमतिमूलक बाटो निकाल्ने विषयमा गहन विमर्श भएको बताइएको छ ।

प्रधान सेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग भेटघाट गरी मुलुकलाई निकास दिने विषयमा छलफल गर्नुभएको छ । उहाँले बिहीबार पुनः अभियन्ताहरूसँग बैठक गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसक्रममा अभियन्ता दुर्गा बम र युजन राजभण्डारीले ‘देश निकासको दिशातर्फ अघि बढेको’ दाबी गरेका छन् ।

जेनजी अभियन्ताले अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई दिनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत भएको खुला बहसमा पनि कार्कीको नेतृत्वमै अन्तरिम मन्त्रिपरिषद् बन्नुपर्ने अभिमत बहुमतले व्यक्त गरेको छ । साथै, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, संघीय संसद्को नयाँ निर्वाचनमा जेनजी पुस्ताको समावेशीकरण, २०४६ पछि सार्वजनिक पदमा रहेका पदाधिकारीका सम्पत्ति छानबिन, भ्रष्टाचारका मुद्दामा कारबाही तथा सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

प्रधान सेनापति सिग्देलले अभियन्ता दुर्गा प्रसाईं र धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रसाईंले मुलुकको निकास नै आफ्नो प्राथमिकता भएको बताउनुभएको छ भने साम्पाङले नयाँ पुस्ताको सोच बोकेको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभएको छ ।

यसैबीच, प्रमुख राजनीतिक दलहरूले संवाद र वैधानिक प्रक्रियामार्फत निकास दिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयम, एकता र संवादमार्फत मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ अघि बढाउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमार्फत कांग्रेसले राष्ट्रपतिको पहललाई स्वागत गर्दै संविधानिक बाटोबाट मात्र समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र, लोकतन्त्र र आन्दोलनलाई जोगाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । एमालेले लोकतान्त्रिक मूल्य र आन्तरिक सहमतिबाट मात्र राजनीतिक संक्रमणको निकास सम्भव हुने बताएको छ ।

प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिलाई संवैधानिक र सहमतिमूलक समाधानतर्फ लैजाने प्रयास भइरहेका बेला सेना, राष्ट्रपति, दल र जेनजी पुस्ताबीच भइरहेको निरन्तर संवादले मुलुकको आगामी राजनीतिक यात्रा निर्धारण गर्ने देखिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend