logo
  • शनिबार, असोज १७ २०८३

‘SAARC Education Conclave–2025’ काठमाडौंमा भव्य रुपमा सम्पन्न


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १५ २०८२

SAARC Education Conclave & Award Ceremony–2025’ काठमाडौंमा भव्य रूपमा सम्पन्न, दक्षिण एशियाली शिक्षाविद्हरू सम्मानित

काठमाडौं – दक्षिण एसियाली मुलुकबीच शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विशिष्ट शैक्षिक व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘SAARC Education Conclave & Award Ceremony–2025’ राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

शिक्षालय नेपाल परिवारको आयोजना र विभिन्न शैक्षिक संघसंस्थाहरूको सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत सार्क राष्ट्रहरूबाट विशिष्ट शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तन र क्षेत्रीय सहकार्यलाई समयानुकूल रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, विशेष अतिथि वरिष्ठ शिक्षाविद् डा. विध्यानाथ कोईरालाले दक्षिण एशियाली शिक्षा प्रणालीमा सुधार र समन्वयको खाँचो रहेको भन्दै यस्ता कार्यक्रमहरूले साझा विकासको बाटो खुलाउने विश्वास व्यक्त गरे। उनीहरू दुबैले शिक्षा क्षेत्रका अभियन्ताहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता पहलले सम्पूर्ण क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपालका तर्फबाट कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरेलाई ‘Education Entrepreneur of the Year–2025’ बाट सम्मानित गरिएको थियो। सम्मान ग्रहण गर्दै घिमिरेले भने, “सार्क स्तरमै मेरो योगदानलाई यसरी कदर गरिनु मेरो लागि ठूलो गर्वको विषय हो। यो पुरस्कार केवल मेरो व्यक्तिगत हैसियतको मात्र नभई सम्पूर्ण शिक्षा परिवार, विद्यार्थी, अभिभावक र सहकर्मी शिक्षकहरूको पनि हो।” उनले उक्त पुरस्कारले आफूलाई अझ जिम्मेवार र समर्पित भएर काम गर्न थप प्रेरणा दिएको बताए।

त्यस्तै, नेपालका अन्य प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि विभिन्न श्रेणीमा पुरस्कृत भए। ललितपुरस्थित लिटिल एञ्जल्स स्कुलका प्रिन्सिपल, जेम्स स्कुल धापाखेलका निर्देशक राजेश खड्का, काठमाडौं वर्ड स्कुलका निर्देशकलगायतका शिक्षाविद्हरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय शिक्षाविद्हरूले अनुभव आदान–प्रदान गर्दै शिक्षा क्षेत्रमा अनुसन्धान, प्रविधि, र नीति सुधारको आवश्यकता रहेको बताए। साथै, उनीहरूले सार्क मुलुकबीच सहकार्य विस्तार गर्दै गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न यस्ता सम्मेलनहरूलाई अत्यन्त उपयोगी र प्रेरणादायी ठाने।

‘SAARC Education Conclave–2025’ ले क्षेत्रीय सहकार्य, शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको पहिचानमार्फत सम्पूर्ण दक्षिण एशियाली शिक्षा क्षेत्रलाई एक साझा मञ्चमा जोड्ने महत्वपूर्ण प्रयासका रूपमा आफ्नो उपस्थिति जनायो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend