पब्लिक सूचना
नेपालले संयुक्त राज्य अमेरिकामा निर्यात हुने थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्पसनसँग बुधबार भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर नेपाललाई व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता दिन र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्न अनुरोध गर्नुभएको हो ।
मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठुलो निर्यात गन्तव्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रम (टे«ड प्रिफेन्स प्रोगाम) मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधा भए पनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको बताउनुभयो ।
अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवेदनशील रहेको विषयलाई महìव दिनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।
त्यस अवसरमा राजदूत थोम्पसनले व्यापार तथा लगानी प्रवर्धनका सम्बन्धमा नेपालका चासोलाई केही अघिको वासिङ्टन भ्रमणका क्रममा समेत सम्बन्धित निकायसँग छलफल राखेको उल्लेख गर्नुभयो ।
नेपाल संयुक्त राज्य अमेरिका टिफा काउन्सिलका यसअघिका बैठकका सहमति कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने विषय भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयबिच सन् २०२४ मा हस्ताक्षर भएको समझदारीपत्रको कार्यान्वयनबाट बौद्धिक सम्पत्तिका क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवर्धन हुने अपेक्षा राख्दै नेपालले अन्तर्राष्ट्रिय सम्झौता र प्रावधानबमोजिम हुने गरी बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमाको क्रममा रहेको मन्त्री भण्डारीले जानकारी गराउनुभयो ।
राजदूत थोम्पसनले नेपालमा अनुमानयोग्य र सुधारिएको लगानी वातावरण कायम हुँदा अमेरिकी लगानीकर्ता लगानी वृद्धिमा इच्छुक रहेको उल्लेख गर्दै बौद्धिक सम्पत्तिका क्षेत्रमा सहकार्य र सहयोगका लागि अमेरिका तयार रहेको जानकारी गराउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend