logo
  • आइतबार, असोज १८ २०८३

३० हजार बोट अकबरे खुर्सानी: विदेशमा कमाइ, घरमै लगानी


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ८ २०८२

गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकार कामकै लागि १७ वर्षदेखि ओमनमा हुनुहुन्छ । घरको बारीमा भने अकबरे खुर्सानी पाकेर राताम्मे छ । स्थायी सात र १५ जना मौसमी कामदारलाई अकबरे टिप्न भ्याइनभ्याइ छ । उनीहरू मासिक १२ देखि २५ हजार रुपियाँ कमाउँछन् । अकबरेको बजार र मूल्य राम्रो भएकाले उनीहरूको तलब बाँकी हुँदैन ।

उहाँको बारीमा गत वर्षसम्म आठ हजार बोट अकबरे खुर्सानी थिए । अहिले बढाएर ३० हजार बोट पुर्‍याउनुभएको छ । पाक्न बेर मात्रै हो, बजारको कुनै समस्या छैन । यो वर्ष अहिलेसम्म १५ क्विन्टल खुर्सानी बजार पुगिसकेको छ ।

ताम्राकारले अहिले करिब दुई सय क्विन्टल खुर्सानी बेचेर ४० देखि ५० लाख रुपियाँ कमाउने लक्ष्य राख्नुभएको छ । उहाँले ओख्रेनी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेर व्यावसायिक खुर्सानी खेती गर्न थालेको डेढ वर्ष भयो । गत वर्ष पनि प्रतिकिलो सरदर २५० रुपियाँमा खुर्सानी बिक्री भएकाले करिब १२ लाख रुपियाँ बराबरको कारोबार भएको ताम्राकारले जानकारी दिनुभयो ।

गुल्मीको मुख्य बजार बुटवल हो । अहिलेको सिजनमा पनि प्रतिकिलो सरदर २५० रुपियाँमा खुर्सानी बिक्री भइरहेको छ । ताम्राकारले आफ्नो २७ रोपनी र छिमेकीका बाँझा जग्गा भाडामा लिएर ७० रोपनीमा खुर्सानी खेती, सुन्तला र केरा खेती गर्नुभएको छ । ताम्राकार पानीजहाजको सेफ भएकाले दुई/दुई महिनामा घर बिदा पाइन्छ । अहिले उहाँ घर आएकै मेसोमा उहाँले सबै बेलिविस्तार लाउनुभयो । घरको कृषिकर्मको नेतृत्व श्रीमती मीना ताम्राकारले गर्नुभएको छ । लगानी, बजार र समग्र योजनामा आफैँले काम गरे पनि कामको नेतृत्व श्रीमतीको काँधमा रहेको चन्द्रले बताउनुभयो । उहाँको परदेशको कमाइ राम्रो भएकाले लगानीको समस्या छैन । लगानी अनुसारको प्रतिफलसमेत हात परेकाले ऊर्जा मिलेको ताम्राकारले बताउनुभयो ।

नयाँगाउँ जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने ठाउँ हो तर बसाइँसराइले गाउँ खाली हुँदै जाँदा सुन्तला हराउला कि बन्ने अवस्थासमेत रहेको छ । जसका कारण आफूले परदेशबाट आउँदा आम्दानी खाने गरेर पाँच सय बोट सुन्तला र स्थानीय जातका तीन सय बोट केरा रोपेको ताम्राकारले बताउनुभयो । उहाँको बारीमा १२ वटा टनेलमा टमाटर छन् ।

ताम्राकारले स्थानीय सरकारका तर्फबाट पाँच वटा टनेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा सिँचाइ पोखरी र ज्ञान केन्द्रका तर्फबाट हाते ट्याक्टर पाउनुभएको छ । धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुँवरले चन्द्र ताम्राकारको कृषिकर्म निकै लोभलाग्दो भएकाले गाउँपालिकाबाट सक्दो सहयोगको प्रयास भएको बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend