पब्लिक सूचना
एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे।
सोमपाल मैदान छिर्दा नेपालले ७ विकेट गुमाउदा ६७ रन जोडेको थियो। उनले नवौं र दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। दोस्रो ओभरमा ओपनिङ ब्याटर कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।
यस्तै कप्तान रोहितकुमार पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भए। दुवैलाई मोहमद वासिमले आउट गरे।
अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भए लगत्तै पवन सर्राफ पनि १ रनमै आउट भए।
नेपालले ९.१ ओभरमा गर्दा ६ विकेट गुमाउदा ३९ रन मात्र जोड्न सक्यो।
प्रतिश जिसीले २४ बलमा २६ रन जोडे। १ चौका र २ छक्का हिर्काएका प्रतिशले नवौं विकेटका लागि सोमपाल कामीसँग ७० बलमा ५८ रनको साझेदारी गरे। यहि साझेदारीका कारण नेपालको स्कोर बढेको थियो। यस्तै सोमपालले दशौं विकेटका लागि ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे।
बलिङमा पाकिस्तानका दहानीले ५ विकेट लिए भने वासिमले ४ विकेट हात पारे।
श्रीलंकामा हिजोदेखि सुरु एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend