logo
  • आइतबार, असोज १८ २०८३

तीन वर्षभित्र अत्याधुनिक इन्धन डिपो निर्माणको योजना, आगलागी सुरक्षा प्रणाली पनि समावेश


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र ५ २०८२

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकामा  निर्माण गर्न लागिएको इन्धन भण्डारणगृहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।  काठमाडौँ विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभागले तयार गरेको डिपिआर बुधबार नेपाल आयल निगमलाई हस्तान्तरण गरियो ।

रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा साढे २५ बिघा क्षेत्रफलमा नयाँ अत्याधुनिक प्रविधियुक्त भण्डारणगृह निर्माणका लागि करबाहेक पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।

आगामी मङ्सिरदेखि निर्माण सुरु गरेर तीन वर्षभित्रमा सक्ने  निगमको लक्ष्य छ । हाल भलबारीमा रहेको डिपो साँघुरो, घनाबस्ती बिचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ डिपो निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

आयल निगम भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख ई. प्रदीपकुमार यादवले प्रत्येक प्रदेशमा एक महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार लुम्बिनी प्रदेशमा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

नयाँ ठाउँमा चार हजार पाँच सय किलोलिटर क्षमताका तीन वटा ठाडा ट्याङ्की गरी १३ हजार पाँच सय किलोलिटर क्षमताको डिजेलको भण्डारणगृह निर्माण हुने छ । यस्तै दुई हजार एक सय किलोलिटर क्षमताको दुई वटा ठाडा ट्याङ्की गरी चार हजार ९६० किलोलिटर क्षमताको पेट्रोल र ७६ किलोलिटर क्षमताका तीन वटा ठाडा ट्याङ्की  २२८ सय किलोलिटर क्षमताको मटितेलको भण्डारणगृह निर्माण गरिने छ । डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि दुई हजार एक सय किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्की निर्माण हुने छन् ।

काठमाडौँ, विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा. विवेक बरालले पेट्रोलियम पूर्वाधार डिजाइन र निर्माण गर्न नेपाली इन्जिनियर सक्षम भएको बताउनुभयो । पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले हाल सञ्चालनमा रहेको भलबारी डिपोमा भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरेकाले नयाँ ठाउँमा डिपो स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend