logo
  • शनिबार, असोज १७ २०८३

दार्मा गाउँपालिकाको चिस्यान केन्द्रले ५०० किसानलाई जोड्यो


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १ २०८२

किसानलाई दिइने उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको पाइएको छ । दुध र मासु उत्पादनका हिसाबले सल्यान कर्णाली प्रदेशकै अग्रणी जिल्लामा पर्छ । पछिल्लो समय उत्पादनका आधारमा दिइने प्रोत्साहन अनुदानले व्यावसायिक पशुपालनमा लागेका ग्रामीण किसानलाई ठुलो राहत दिएको छ ।

कर्णाली प्रदेश सरकारले किसानले बेच्ने प्रत्येक लिटर दूधमा पाँच रुपियाँ अनुदान दिने नीति ल्याएपछि किसानको आय मात्र बढेको छैन, आत्मनिर्भरता पनि बढेको छ । यस्तै जिल्लाका केही स्थानीय तहले पनि दुध र खसीबोका बिक्रीमा प्रोत्साहन दिन थालेपछि किसानको जीवनशैलीमा सकारात्मक परिवर्तन देखिएको छ । यस वर्ष मात्रै सल्यानका किसानले दुध बेचेर २३ लाख रुपियाँभन्दा बढी अनुदान पाएका छन् । दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाले यस वर्ष एक लाख ५० हजार लिटर दुध बेचेर ११ लाख ७० हजार रुपियाँ अनुदान पाएको छ । सहकारी अध्यक्ष सुरेन्द्र केसीका अनुसार यसमा प्रदेश सरकारको पाँच रुपियाँ र गाउँपालिकाको थप तीन रुपियाँ प्रतिलिटर अनुदान समावेश छ ।

२०७६ सालमा स्थापना भएको चिस्यान केन्द्रले पाँच सयभन्दा बढी किसानलाई दुध बिक्री थप सहज भएको छ । दार्मा गाउँपालिका–५ का किसान रकबहादुर चन्दले सहकारीले दुध किन्ने निश्चित भएपछि आफूहरू व्यावसायिक भैँसीपालनमा लागेको बताउनुभयो ।

दार्मा गाउँपालिकाले आव २०७८/७९ देखि दुधमा थप तीन रुपियाँ र खसीबोका बिक्रीमा प्रतिकेजी ५० रुपियाँ अनुदान दिने नीति लागु गरेपछि भैँसी र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले यस आवमा गाउँपालिकाले किसानलाई दुई लाख ४९ हजार ६१० लिटर दुध उत्पादनबापत सात लाख ४८ हजार ८३० रुपियाँ र ३९ हजार ७४२ केजी जिउँदो खसी बिक्रीबापत पाँच लाख २६ हजार छ सय रुपियाँ अनुदान दिएको बताउनुभयो । उहाँका अनुसार पालिकालले दुध र बाख्रा ‘पकेट क्षेत्र’ कार्यक्रम पनि सञ्चालन गरेको छ ।

त्रिवेणी गाउँपालिकाले पनि किसानलाई प्रतिकेजी २० रुपियाँका दरले अनुदान दिँदै आएको छ । गत आव २०८१/८२ मा ३०८ कृषकले सय किलो खसी बिक्री गरेर १० लाख ८० हजार ९२० रुपियाँ अनुदान पाएका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले प्रोत्साहन अनुदानले उत्पादन मात्र बढाएको छैन, गाउँमै रोजगारी सिर्जना र आत्मनिर्भरता पनि बढाएका बताउनुभयो ।

अनुदान रकमले उत्पादन र खपत दुवैमा सकारात्मक प्रभाव पारेको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत सल्यानमा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानका अनुसार गत वर्ष जिल्लामा एक करोड ८० लाख ५८ हजार लिटर दूध उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो ।

कार्यालय प्रमुख गोविन्द महतले किसानका खातामा २१ लाख पाँच हजार ४८ रुपियाँ उपलब्ध गरिएको बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा उत्पादित अधिकांश दुध स्थानीय बजारमै खपत हुने गरेको छ भने केही मात्रामा दाङ र काठमाडौँमा पठाइन्छ । प्रोत्साहन अनुदानको प्रभावले सल्यान क्रमशः दुध र मासु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend