पब्लिक सूचना
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बिनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाउनुभएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो। भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ।”
रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरुपमा जिम्मेवारीका साथ सक्रियरुपमा लागेको स्पष्ट पार्नुभयो। नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नती तथा प्रगतिमा खटाइएको उहाँको भनाइ छ।
“नेपाली सेना, संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मापदण्ण्ड अनुरुप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशिल रहेको प्रति सबैलाई अनुरोध गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्छ।”
उहाँले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुने समेत स्पष्ट पार्नुभयो। साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी, सरकारले समय-समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सृष्टि रहेसम्म हाम्रो देश रहन्छ। त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरुपमा प्रतिबद्ध छ। प्रतिकुल अवस्थालाई अनुकुलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रुपमा निर्वाह गर्दै आएको छ।”
उहाँले हाल नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताउनुभयो। जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उहाँको भनाइ छ।
हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उहाँले सुनाउनुभयो। उहाँका अनुसार ४० हजार दुई सय ७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ।
उहाँले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताउनुभयो। अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उहाँको भनाइ छ।
“नेपाली सेना विश्वका कुनै पनि भागमा संयुक्त राष्ट्र सङ्घको छातामुनी रहेर द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि निकै ठूलो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “शान्ति स्थापना भएका देशमा नेपाली सेनाप्रति त्यहाँका जनताले देखाएको विश्वास र अपनत्व गौरव गर्न लायक छ, यसको मनोवैज्ञानिक प्रभाव विश्वभर परेको छ।”
रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले संख्याका रुपमा दोस्रो र प्रभावकारीताका हिसाबले अब्बल रहेको बताउनुभयो।
उहाँले सेनाको व्यवस्थापनका सन्दर्भमा बङ्करबाट ब्यारेकसम्म अभियान अन्तर्गत हालसम्म पाँच हजार आठ सय ५० ब्यारेक निर्माण गर्नुपर्नेमा तीन हजार सात सय २२ ब्यारेक निर्माण भइरहेको बताउनुभयो। उहाँले यसका लागि आगामी आवमा दुई अर्बको हाराहारीमा बजेट बिनियोजन गरिएको समेत बताउनुभयो।
रक्षामन्त्री खड्काले तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको उल्लेख गर्दै २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको बताउनुभयो। “कोरोना महामारीलगायतका कारण फास्ट ट्रयाक निर्माणमा ढिलाइ भएको हो, अहिलो निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ, २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend