पब्लिक सूचना
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।
उपाध्यक्ष भगवतीकुमारी चौधरीले आज गाउँ सभामा बजेट प्रस्तुत गर्नुभयो। कैलारीले कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख, समपूरक कोषतर्फ पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि दुई करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख बजेट विनियोजन गरेको छ।
यस्तै, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १० लाख र अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट छुट्टयाइएको छ। यसैगरी, नौ वटै वडालाई ६० लाखका दरले कुल पाँच करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।
यो पालिकाको आयस्रोतमा आन्तरिक आय दुई करोड ५७ लाख, चालु आर्थिक वर्षको खर्च हुन बाँकी ४० लाख रुपियाँ रहेको छ।
यस्तै, सङ्घीय सरकारको समानीकरण अनुदान १४ करोड १८ लाख, राजस्व बाँडफाँट १२ करोड ८२ लाख, सशर्त अनुदान ३० करोड ५७ लाख रुपियाँ रहेको छ। यस्तै, विशेष अनुदान ५४ लाख, समपूरक अनुदान दुई करोड ६५ लाख रुपियाँ गरेर सङ्घबाट जम्मा ६० करोड ७६ लाख रुपियाँ रहेको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।
प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ४३ लाख, राजस्व बाँडफाँट ४३ लाख, समपूरक अनुदान ५५ लाख र विशेष अनुदान तीन करोड २६ लाख रुपियाँ रहेको छ। यसैगरी, गैरसरकारी संस्थाको कार्यक्रम बजेट पाँच करोड २४ लाख रुपियाँ रहेको जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend