पब्लिक सूचना
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले विगतका सफलताप्रति गौरव गर्दै वर्तमान प्रणालीलाई अझ सबल बनाउँदै सुधारको मार्गमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आयोगको ७५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
विक्रम संवत् २००८ असार १ गते स्थापना भएको नेपालको सबैभन्दा पुरानो संवैधानिक निकाय लोक सेवा आयोगले यस वर्ष ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ ।
अध्यक्ष रेग्मीले भन्नुभयो, “विगतका सफलताबाट प्रेरणा लिँदै, कमजोरीबाट पाठ सिक्दै र वर्तमान तथा भविष्यका आवश्यकतालाई पहिचान गर्दै अघि बढ्नु जरुरी छ । त्यसैले आयोगको कार्य प्रणालीलाई अझ मजबुत बनाउँदै सुधारका कार्यलाई अघि बढाउँछौं ।”
कार्यक्रममा उहाँले आयोगको कार्य सम्पादनलाई सहज बनाउन निरन्तर साथ दिँदै आएका नेपाल सरकारका निकायहरू, सुरक्षा निकायहरू, विद्यालय तथा विश्वविद्यालयहरू, सार्वजनिक संस्थाहरू र विषयविज्ञहरूलाई ‘लोक सेवा आयोगका मित्र’को रूपमा आभार प्रकट गर्नुभयो ।
“आयोगको काममा आफ्नो विज्ञताद्वारा अतुलनीय योगदान दिने सम्पूर्ण मित्रहरूलाई धन्यवाद व्यक्त गर्दछु,” उहाँले भन्नुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend