पब्लिक सूचना
तीनकुने क्षेत्रमा भएको आन्दोलनमा घाइते भएकी रेविका खत्रीलाई न्याय दिलाउन माग गर्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले आज नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।
उदयपुरकी रेविका खत्री दुई महिनाअघि तीनकुनेमा भएको आन्दोलनका क्रममा घाइते भएकी थिइन्। यद्यपि, घटनाको दुई महिना बितिसक्दा पनि उनको उपचार अस्पतालमै जारी छ। उनीमाथि भएको अन्याय र राज्यको बेवास्तालाई लिएर विद्यार्थीहरू आन्दोलित भएका हुन्।
प्रदर्शनकारी विद्यार्थीहरूले ‘रेविकालाई न्याय दे’, ‘घाइतेहरूको उपचार सुनिश्चित गर’, ‘राज्यको बेवास्ता बन्द गर’ भन्ने नारासहित संसद् भवनअगाडि धर्ना दिएका थिए। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न बल प्रयोग गरेको र आठ जनालाई पक्राउ गरेको जनाइएको छ।
विद्यार्थीहरूले रेविकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनको उपचार खर्चमा राज्यले कुनै जिम्मेवारी नलिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको बताएका छन्। उनीहरूले सरकारसँग घाइतेहरूको उचित उपचार, क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रदर्शनकारीहरूको भनाइ अनुसार, यदि सरकारले चाँडो उचित कदम नचाले राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend