logo
  • शनिबार, असोज १७ २०८३

सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई त्रियुगा नगरपालिकाले शनिबार औषधी उपलब्ध गराए


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८०

गाईघाट, असार २४ गते । त्रियुगा नगरपालिका–३ स्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई त्रियुगा नगरपालिकाले शनिबार पाँच लाख रुपियाँ बराबरको विभिन्न औषधी उपलब्ध गराएको छ।

चालु आर्थिक वर्षको विनियोजित बजेटबाट नगरपालिकाले सर्पदंश उपचारसँग सम्बन्धित ५४ प्रकारका औषधी निःशुल्क उपलब्ध गराएको हो। सर्पदंश उपचार केन्द्रका अध्यक्ष पवित्रा गिरीलाई औषधी हस्तान्तरण गर्दै नगर प्रमुख वसन्तकुमार बस्नेतले उपलब्ध औषधीलाई मूल पुँजीका रूपमा लिई आगामी वर्षहरूमा निरन्तरता दिन आग्रह गर्नुभयो। “यो तपाईंहरूका लागि मुल पुँजी हो, यसबाट बिरामीलाई सुपथ मूल्यमा बिक्री गरेर आम्दानी गर्नुहोस् र त्यहीबाट आगामी वर्षदेखि उपचार केन्द्र आफैँले औषधी किन्न सक्ने गरी सक्षम हुनुहोस्,” उहाँले भन्नुभयो।

सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप – Nepali Health

सधैँ मागेर चलाउनेभन्दा पनि यसको निरन्तरता दिन आत्मनिर्भर कसरी हुन सकिन्छ भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। सर्पदंश उपचार केन्द्रलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रम नै नगर सभाले पारित गरिसकेकाले स्तर वृद्धिका लागि सहयोग गर्न सकिने भन्दै नगर प्रमुख बस्नेतले शिक्षा, स्वास्थ्य र कृषि त्रियुगा नगरको प्राथिमकतामा रहेको र त्यसै कारण रेफर सेन्टर बनेको जिल्ला अस्पताललाई केही दिनभित्रै मुटुका रोगीको डायलासिस र भेन्टिलेटर सेवा प्रवाह गरी छिमेकी जिल्लाको समेत उपचार केन्द्रका रूपमा विकास गरिरहेका छौँ  भन्नुभयो।

नेपाली सेनाको १८ नम्बर बाहिनीको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा २०७९ सालमा २३३ जना महिलासहित ४२५ जनालाई सेवा प्रवाह गरिएको सचिव यदुप्रसाद ढकालले बताउनुभयो। त्यसै गरी २०८० सालको असार २१ गतेसम्म सर्पले टोकेका २९ जना महिला र २३ जना पुरुष गरी ५३ जना बिरामीले सेवा लिएको भन्दै उपचार केन्द्रमा बजेट अभावका कारण रङरोगन हुन नसकेको, विद्युत् जडान नभएको, फर्निचर खरिदलगायतका काम अझै बाँकी रहेको उहाँले बताउनुभयो। अध्यक्ष पवित्रा गिरीले सामान्य शुल्कबाट उपचार केन्द्र सञ्चालन गर्नु परेकाले खर्च धान्न निकै कठिन हुने गरेको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend