logo
  • शनिबार, असोज १७ २०८३

कान्ति राजमार्गलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउँछौं- मन्त्री ज्वाला


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८०

काठमाडौं, असार २४  गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन्।  यो काठमाडौं उपत्यकालाई तराई-मधेससँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रूपमा सञ्चालन एवं पुनः निर्माण कार्यले गति लिन सकेको छैन।

सरकारले यो सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतिका लागि तीन अर्ब ७८ करोड रूपैयाँ बराबर बजेट विनियोजन गरेको छ। कुल ७९ किलोमिटर लामो यो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनः निर्माण र कालोपत्र गर्न बाँकी छ। त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ। कुल ७२ किलोमिटर सडक चौडा तथा सुधार भने भइसकेको छ।

कान्ति राजमार्गको समस्या रहेको खण्डबाहेकको निर्माण यस आवमा सकिने « GDP Nepal

राजमार्गको विभिन्न ठाँउमा वर्षाको समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरूद्ध भइरहेको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ। पहिरोका कारण बिग्रिएको सडक पुनः निर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाल लगायत संरचनाका लागि स्रोत अभाव हुने गरेको छ। जथाभावी रूपमा पहुँच सडक निर्माण गरिँदा पानीको निकास लगायतका समस्या छ। कमजोर भू-बनावटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ।

स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गका रूपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रूपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए।

उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिए। सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend