पब्लिक सूचना
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री बिपना थापा मुख्य भूमिकामा देखिने भएकी छन्। फिल्म ‘ह्रस्व दीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी उनलाई फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मका लागि अनुबन्धित गरेका हुन् ।
अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हुनेछ । दर्शकलाई इमोसनल बनाउने कथा भएकोले थापालाई छानिएको निर्देशक पन्तले बताए ।
आगामी भदौ देखि छायाङ्कनमा जान लागेको फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बिपनाको भनाई छ। अभिनेत्री थापाले पनि यस फिल्मको कथा सुन्दा नै आफूलाई भावुक बनाएको र काम गर्न राजी भएको बताइन् ।
थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निर्वाह गरेकी थिइन्। यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोस्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो।
फिल्मले आमा र सन्तानबिचको गहिरो कथा भन्ने छ। आमाको भूमिकामा बिपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरूको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए। उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रूपमा नै प्रदर्शनमा आउने छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend