पब्लिक सूचना
झिल्को’ चलचित्र एक सानो डिजिटल कुलतबाट सुरु भएर परिवार, समाज र बालबालिकाको जीवनमा कस्तो असर पर्न सक्छ भन्ने यथार्थमा आधारित छ। निर्देशक यादव भट्टराईले मोबाइल र इन्टरनेटको दुरुपयोगले निम्त्याएको समस्यालाई मार्मिक शैलीमा प्रस्तुत गरेका छन्।
आज मोबाइल हरेकको जीवनको हिस्सा बनिसकेको छ। विशेषगरी बालबालिका खाना खानुभन्दा पहिला मोबाइल चलाउने, गेम खेल्ने, युट्युब हेर्ने बानीमा डुबिरहेका छन्। यस्ता व्यवहारलाई ‘झिल्को’ले कलात्मक ढंगले चित्रण गरेको छ। चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलको अभिनय कथा सशक्त बनाउन मद्दत पुर्याउँछ।
चलचित्रमा एउटा पत्रकारको सुखी परिवारमा मोबाइलको लतले कसरी दरार ल्याउँछ भन्ने मार्मिक कथा प्रस्तुत गरिएको छ। अभिनेता विशाल पोखरेल भन्छन्, “चलचित्रपछि मैले आफ्नै जीवनशैली परिवर्तन गरेको छु। राति वाइफाइ बन्द गर्ने, बालबालिकालाई मोबाइलबाट टाढा राख्ने जस्ता साना प्रयासले ठूलो परिवर्तन सम्भव छ।”
कोभिडकालमा अनलाइन कक्षा लिएपछि बालबालिकामा मोबाइलको पहुँच झनै बढ्यो। तर, अभिभावकले त्यसको नियन्त्रणमा ध्यान नदिँदा डिजिटल कुलतले गम्भीर रूप लिन थाल्यो। यही समस्यालाई चलचित्रले उजागर गरेको छ।
‘झिल्को’ले दर्शकलाई सोच्न बाध्य बनाएको छ—के तपाईंको घरमा पनि डिजिटल लतको झिल्को सल्किरहेको छैन? अभिभावक, शिक्षक, र हरेक सचेत नागरिकका लागि यो चलचित्र हेर्नुपर्ने सन्देश बोकेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend