logo
  • आइतबार, असोज १८ २०८३

२५६९ औँ बुद्ध जयन्ती लुम्बिनीमा मनाइदै


  • पब्लिक सूचना
  • सोमबार, बैशाख २९ २०८२

रुपन्देही,  वैशाख  २९  गते । शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज लुम्बिनीमा भव्य समारोहको बिच मनाइदैछ  । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको लुम्बिनीमा हुने मूल समारोहलाई सम्बोधन प्रधानमन्त्री केपी  शर्मा ओलीले गर्नुहुनेछ ।

मूल समारोहमा प्रधानमन्त्री सहित कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेशसभा सदस्यहरू, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न देशका पाहुनाहरूको सहभागिता  रहेको छ ।

आजभन्दा २६४९ वर्ष अघि ई.पू. ६२३ मा लुम्बिनीमा मायादेवीको कोखबाट शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

मूल समारोह  पूर्व वैशाख २८ गते आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ, वैशाख २९ गते बुद्ध पूर्णिमाको दिन बिहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान साढे  ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा भएको थियो ।

यस्तै बुद्ध जयन्तीको अवशरमा लुम्बिनीमा सरसफाइ कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रसूति उत्सव लगायत कार्यक्रम आयोजना गरिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend