logo
  • शनिबार, असोज १७ २०८३

नीति निर्माण तहमा युवाको सहभागिता गौण रह्यो : मुख्यमन्त्री लामा


  • पब्लिक सूचना
  • आइतबार, बैशाख २८ २०८२

मकवानपुरगढी, वैशाख २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति निर्माण तहमा युवाको सहभागिता गौण रहेको बताउनुभएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारदेखि सुरु भएको बागमती प्रदेश यूवा सम्मेलन २०८२ मा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री लामाले देशमा नेतृत्व तहमा यूवाहरु पुग्नका लागि कठिन परिस्थिति सिर्जना भएको र युवा जोस जाँगर स्खलित भएपछि मात्रै शासकीय संरचनाको नेतृत्व तहमा पुग्ने गरेको प्रवृत्ति विडम्बना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहि उमेर र सहि समयमा समयपेक्ष नेतृत्वले जिम्मेवारी नपाउँदा अपेक्षित परिणाम दिन ससकेको यथार्थ हो । यो सवालमा बागमती प्रदेश सरकारको धारणा स्पष्ट छ ।”

“युवाको सहभागिता र संलग्नता बिना प्रदेशको विकास हामी कल्पना समेत गर्न सक्दैनौं । युवाको श्रम र सीपको मात्र सहभागिता खोजेका छैनौं, नेतृत्व र प्रतिनिधित्वमा युवाको बहुसंख्यक अनुहार र साझेदारी खोजेका छौं । युवाहरुको आखाँबाट प्रदेशको विकासको प्रारुप कस्तो हुनुपर्छ ? र युवाहरुको नजरमा प्रदेशको सुशासन कस्तो हुनुपर्छ? भन्ने प्रश्नको उत्तर पनि यस ऐतिहासिक सम्मेलनमार्फत हुनेछ भन्ने विश्वास मैले लिएको छु,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री लामाले आगामी वर्षको नीति, कार्यक्रम बजेटले बागमती प्रदेशको विकासमा युवाहरुको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेशको दोस्रो आवधिक योजनामा यूवामा उद्यमशिलता र रोजगारी वृद्धि गर्ने तथा नेतृत्व, नीति विकासका युवा सहभागिता वृद्धि गर्ने मूल ध्येय प्रदेश सरकारको रहेको उहाँले बताउनुभयो ।

युवालाई रोजगारी र उत्पादनसँग आवद्ध गर्नु र यूवा पलायन रोक्नु सरकारको गम्भीर चुनौती रहेको उहाँले बताउनुभएको छ । शिक्षासँग सीप जोडिएन, भएको सीपले रोजगारी सिर्जना गर्न सकेन र उद्यमशीलता पनि सिर्जना भएन भएन भन्ने गुनासोलाई सम्बोधन गर्दै प्रदेश सरकारले बजेटको ठूलो हिस्सा युवाको सीप विकास तथा रोजगारी सिर्जनामा लगानी गरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको दोस्रो आवधिक योजना र दिगो विकास लक्ष्यको आधारशिला निर्माण भएपश्चात् दिगो विकास लक्ष्य २०३० र युथ भिजन २०२५ ले पनि युवाको विकास र सहभागितालाई नै जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्ने उदेश्यले सीप विकास तालिम, बीउ पूँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिनेजस्ता कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालनमा ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्मेलनमा कृषि उत्पादनमा युवाको संलग्नता बढाउने उपायहरुका बारेमा घनिभूत छलफलका साथै उपयुक्त विकल्प होस् भन्ने चाहन्छु । स्वदेशमा अवसरको अभाव देखाउँदै माध्यमिक शिक्षा पूरा गर्ने बित्तिकै विदेशिने युवाहरुलाई रोक्न र स्वदेशमानै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारको कोशिस जारी छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend