पब्लिक सूचना
काठमाडौंमा चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन्। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिन भित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।
अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। शुक्रबार बिहान महासंघ अध्यक्ष सुवेदीले सदाझै बिहान ११ बजे आन्दोलनस्थलमा जम्मा हुन आह्वान गरेका छन्।
‘हाम्रो आन्दोलन जारी छ। साथीहरुको अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ,’ उनले भनेका छन्।
सुवेदीले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन्।
‘हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ,’ उनले भनेका छन्। शुक्रबारदेखि संसदको बर्खे अधिवेशन पनि सुरू हुँदैछ।
योपटकको बर्खे अधिवेशनले बजेटसँगै विद्यालय शिक्षा विधेयक पनि टुंगो लगाउने भनेको छ। विद्यालय शिक्षा विधेयक टुंगो लगाएर शिक्षकहरूको माग शीघ्र सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने भनेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend