पब्लिक सूचना
नेकपा (माओवादी केन्द्र)ले शुक्रबारदेखि सुरू हुने संघीय संसदको अधिवेशनबाट विद्यालय शिक्षा र संघीय निजामती विधेयक चाँडो टुंग्याउन पहल गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विद्यालय शिक्षा विधेयक पारित गरी शिक्षकहरूलाई नियमित काममा फर्काउन र निजामति विधेयक पनि चाँडो टुंगो लगाउन पहल गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
‘दुई बहुप्रतिक्षित विधेयकहरूलाई टुंगोमा पुर्याउने विषयमा संसदमा प्रभावकारी र सशक्त भूमिका खेल्नका लागि दल नेताबाट निर्देशन भएको छ,’ प्रमुख सचेतक पाण्डेले भने।
विद्यालय शिक्षा विधेयक टुंगो लगाउन माग गर्दै शिक्षकहरू झन्डै तीन सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
यसअघि प्रचण्ड नेतृत्वमा सरकार हुँदा विधेयक संसदमा दर्ता भए पनि वर्तमान सरकारले त्यसलाई समयमै टुंगो लगाएर शिक्षकहरूको माग पूरा गर्नतर्फ ध्यान नदिएको निष्कर्ष माओवादीको बैठकले निकालेको छ।
‘शिक्षकहरुको माग पूरा गर्ने सम्बन्धमा सरकार गैरजिम्मेवार भएको भन्ने निष्कर्ष छ। त्यसकारण संसदबाट पार्टीले त्यसमा पहलकदमी गर्ने भनिएको छ,’ प्रमुख सचेतक पाण्डेले भने।
माओवादील हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियानमा जनताबाट सल्लाह सुझाव पाएको आधारमा आगामी बजेट जनताका पक्षमा लैजाने गरी पहल लिने निर्णय पनि बैठकले गरेको छ।
समग्रमा संघीय संसदको दुवै सदनमा पार्टीका सांसदहरूले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै जनताको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने निर्णय भएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend