पब्लिक सूचना
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेतृत्वलाई विरोधीहरूले संगठित ढंगले घेराबन्दी र हमला गरिराखेको बताएका छन्।
मंगलबार नेकपा स्थापनाको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विरोधीहरूले संगठित ढंगले हमला गरिरहँदा पार्टीकै कतिपय नेता ‘त्यसै हमला गरेको छ र!’ भन्ने किसिमले अभिव्यक्ति दिन थालेको टिप्पणी गरेका छन्।
‘गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरणचाहिँ अहिले गल्ती गर्नेंहरूले, अपराधीहरूले, समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरूले, राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी गर्ने विरोध गर्ने काम गरिरहेका छन्,’ ओलीले भने, ‘यसमा विभिन्न प्रकारका शक्तिहरू सामेल भएका छन्। विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन्। हाम्रै साथीहरूले पनि कताकति फेरि, यत्तिकै यो विरोध भएको छ त! यतिकै विरोध भएको त होइन जस्तो लाग्छ भन्ने खालका पनि कताकता भ्रम पर्न खोज्या हो कि, भ्रममा सामेलन हुन खोज्या हो नबुझिने गरी त्यस्ता आशंका उठाएर बोल्ने गरेको सुनिन्छ।’
उनले पार्टीका बहुसंख्यक नेताहरूले हिरासत, अलिअलि मुद्दामात्रै र आलोचना, विरोध लाञ्छना सहेरै आएको बताए।
तर अहिलेचाहिँ पार्टी नेतृत्वले राम्रो काम गरेकाले नै विरोधीहरूले हमलाकेन्द्रित गरेको उनको भनाइ थियो।
विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले पार्टीलाई समर्थन गरिराख्या छैन, यहाँ नेतृत्वले केही गल्ती त गरेन? राष्ट्रियताका सम्बन्धमा सवाल उठाएर विरोधको सामना गरिराख्या छ, जनताका सवाल उठाएर, अग्रगमनका कुरा उठाएर आलोचनाको तारो भइराखेको छ, आलोचनाको तारो नहुने नेता पो खोज्नुपर्छ पर्छ कि? भन्ने पनि कतिपयलाई लागेको हुनसक्ने उनले बताए।
‘हामीले आन्दोलनका उद्देश्य छोड्ने हो, राष्ट्रियताको मुद्दा छोड्ने हो, यी मुद्दाहरूमा अड्न छोड्यौं, राष्ट्र हितमा अड्न छोड्यौं भने, राष्ट्रिय गौरबका कुरा छोड्यौं, अग्रगामी बाटो छोड्यौ भने त हाइहाइ भइहालिन्छ नि!,’ उनले भने।
आफू पनि एक–डेढ महिनाभित्र हाईहाई हुन चाहने हो भने बन्न बाधा नभएको उनको तर्क छ।
‘एक–डेढ महिनाभित्र हाईहाई हुन चाहने हो भने प्रशस्त हुन सकिन्छ नि! मैले गति छाडेँ भन्दिने हो भने हाइहाइ गरिहाल्छन् नि! हो यस्तो पो हुनुपर्छ भनिहाल्छन् नि!,’ उनले भने।
तर पार्टीको पथ त्यो नभएको बताए। एमाले एउटा महान परिवर्तनको उद्देश्यमा हिँडिराखेको पनि उनले बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend