पब्लिक सूचना
सुमना श्रेष्ठले सहमहामन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले केही दिनमा उनीसँगै बसेर छलफल गर्ने भएको छ।
श्रेष्ठले गत चैत १८ गते नै पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। पार्टी सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको राजीनाबारे छलफल भएको थिएन। त्यसै थाति रहेको थियो।
गत वैशाख ४ गते पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठक श्रेष्ठले आफू सहमहामन्त्रीको भूमिकाबाट राजीनामा दिएको बताए पनि त्यसबारे छलफल हुन बाँकी रहेको पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए। साथै श्रेष्ठले राजीनामा दिँदा प्रक्रिया पूरा नगरेको पनि अर्यालले बताए।
‘हाम्रो पार्टीमा पदाधिकारी एवम् सदस्यले महामन्त्रीमार्फत् पार्टी सभापति, कार्यवाहक सभापतिलाई राजीनामा बुझाउने वैधानिक प्रक्रिया छ। तर सहमहामन्त्रीले केन्द्रीय समितिको ग्रुप (सामाजिक सञ्जाल) मा राजीनामा पत्र पठाउनुभएको छ। त्यहाँ उहाँको नाम मात्रै उल्लेख छ, हस्ताक्षर छैन,’ कार्यवाहक सभापति अर्यालले सेतोपाटीसँग भने।
तर सहमहामन्त्री श्रेष्ठले केन्द्रीय समितिको बैठकमै राजीनामा दिएको जानकारी गराइसकेकोले त्यसमा छलफल हुने उनले बताए।
‘केन्द्रीय समिति बैठकमा नै उहाँले सहमहामन्त्रीबाट राजीनामा दिएको छु भनेपछि त्यसलाई नजरअन्दाज गर्ने कुरा आउँदैन। पार्टी विधि, पद्धतिअनुसार उहाँलाई बोलाएर छलफल गर्छौं।’
केही दिनमै महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टी उपसभापति स्वर्णिम वाग्ले र कार्यवाहक सभापति बसेर श्रेष्ठसँग छलफल गर्ने अर्यालले जानकारी दिए।
कार्यवाहक सभापति अर्यालले श्रेष्ठको राजीनामासँगै पार्टी अनुशासनका केही प्रश्नहरू उठेको बताए। पार्टी निर्माणको उपक्रममा सदस्यहरूको थाप्लोमा एकभन्दा बढी जिम्मेवारी पर्न जानु स्वाभाविक र प्राकृतिक भएको बताउँदै अर्यालले पार्टीको कुरा पार्टीभित्रै छलफल हुनुपर्ने बताए।
‘घरलाई कतिको अनुशासित बनाउने भन्ने परिवारको सदस्यको पनि जिम्मेवारीको कुरा हो,’ उनले भने, ‘पार्टीमा पनि कुरा त्यही हो,’ उनले भने।
सुमना श्रेष्ठको राजीनामालाई लिएर अर्को पनि विवाद छ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेलगत्तै श्रेष्ठले आफ्नो राजीनामा ‘होल्ड’ गर्न अनुरोध गरेको भए पनि त्यो राजीनामा ‘लिक’ गरेर मिडिया ट्रायल गरिएको आरोप उनले लगाएकी छन्।
आफूले राजीनामा दिएको चार दिनपछाडि पार्टी सभापति रवि लामिछाने थुनामा गएकाले विषय स्थगित गरौं भनेको उनको दाबी छ।
‘मैले यो राजीनामा दुई हप्ताअगाडि दिएको हुँ। १८ गते। त्यतिबेला पार्टी सभापति रवि लामिछानेले सभापतित्व ग्रहण गरिराख्नुभएको थियो। चैत २२ गते उहाँलाई पक्राउ गरेपछि तत्कालीन पार्टीको कार्यवाहक सभापतिलाई यो न्युज (राजीनामा) होल्ड गरौं भनेर भनेकै हो,’ गएको केन्द्रीय समिति बैठक सकिएलगत्तै पार्टी कार्यालयअगाडि आएर सञ्चारकर्मी सामू उनले भनेकी थिइन।
तर केन्द्रीय समितिको बैठक अगाडि राजीनामाको कुरा बाहिर ल्याइएर मिडिया ट्रायल गरिएको उनले आरोप लगाएकी थिइन्।
केन्द्रीय समितिको बैठकको तयारी गरिरहँदा त्यस दिन बिहान आफूलाई सिनियर जर्नलिस्ट र सम्पादकहरूबाट तारन्तार फोन आएको उनले बताइन्।
‘यो कुरा तपाईंले कहाँबाट थाहा पाउनुभयो भनेर मैले सोध्दा यो त बिहान तपाईंको पार्टीभित्रैबाट हामीलाई एसएमएस गरेको भनेर जवाफ आयो। त्यसपछि मैले सिसिएम (केन्द्रीय समितिमा) मा यो कुरा राखेको छैन, प्लिज होल्ड (राजीनामाको कुरा नलेखौंं) गरौं भनेर आग्रह गरे,’ उनले भनिन्।
बजारमा छ्याप्छ्याप्ती भइसकेको कुरा तपाईंले रोक्न सक्नुहुन्न भनेर सो दिन पत्रकारहरूले भनेको उनले बताइन्।
१५ दिनअघि आफ्नो राजीनामा पार्टी पुनर्निर्माणका लागि प्रासंगिक भएको र अहिले सान्दर्भिक नहुने नै आफूलाई लागेको उनले बताइन्। तर बाहिर ल्याइसकेपछि आफूले केन्द्रीय समितिमा पेस गरेको श्रेष्ठले बताइन्।
उनले केन्द्रीय समिति बैठकअगाडि नियोजित हिसाबले कसले राजीनामा विषय बाहिर ल्यायो भनेर खोजिकै विषय रहेको पनि बताएकी छन्।
रास्वपाका कतिपय नेताले भने श्रेष्ठले केन्द्रीय सदस्यहरू जोडिएको भाइबरब ग्रुपमा उक्त राजीनामा पत्र आएपछि मात्रै बाहिरिएको बताएका छन्।
तर तथ्यहरू हेर्दा श्रेष्ठले केन्द्रीय सदस्यको ग्रुपमा सो पत्र हाल्नुअगाडि नै मिडियामा उनले राजीनाको विषय आइसकेको थियो।
श्रेष्ठले शुक्रबार बिहान १०:२८ बजे राजीनामा पत्र केन्द्रीय सदस्यको ग्रुपमा हालेकी थिइन्। तर १० बज्नुअगावै उनले राजीनामा दिएको विषय मिडियामा प्रकाशित भइसकेको थियो।
‘किन सार्वजनिक गरियो, यसबारे मलाई केही थाहा छैन। जो साथीले पब्लिक (सार्वजनिक) गर्नुभयो, उहाँलाई एकपटक सोध्नुपर्छ, उहाँले किन सार्वजनिक गर्नुभयो?,’ उनले प्रश्न गर्दै भनिन्।
रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार श्रेष्ठले राजीनामा दिएकोबारे सचिवालयका पनि केही सीमित नेतालाई मात्रै थाहा थियो। केन्द्रीय सदस्यहरू त पूरै अनभिज्ञ थिए।
त्यसैले सचिवालयबाटै बाहिरिएकोमा केही केन्द्रीय सदस्यहरूको दावी छ।
पार्टीका कार्यवाहक सभापति अर्यालले भने पार्टी सचिवालयलाई यसबारे केही थाहा नभएको प्रतिक्रिया दिए।
‘राजीनामा पत्र कसरी बाहिरियो भनेर हामीलाई थाहा छैन। केन्द्रीय समितिले ग्रुपमा हालेपछि राजीनामाबारे थाहा पाएको हो,’ उनले भने।
उनले सभापति लामिछाने पक्राउ परेपछि सहमहामन्त्री श्रेष्ठले राजीनामा पत्र होल्ड गर्न भनेको चाहिँ स्वीकार गरे।
‘उहाँले होल्ड गर्न भनेकैले सभापतिले रोक्नुभएको होला! उहाँले होल्ड गर्न भनेकैले १५ दिन होल्ड भएर रहेकै होला। उहाँले केन्द्रीय समितिको ग्रुपमा पत्र हालेपछि र केन्द्रीय समितिमा राजीनामा दिएपछि त्यसबारे छलफल हुन्छ, केही दिनमा हामी छलफल गर्छौं,’ उनले भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend