पब्लिक सूचना
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, प्रगतिशील शक्तिहरु तथा देशभक्तहरुले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै खनालले विगतमा भएका गल्तीको समीक्षा गर्दै वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गर्नुपर्ने बताएका हुन्।
उनले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरु बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गरेका छन्।
‘वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौं। पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरुबाट मुक्त बनौं,’ उनले भनेका छन्।
नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमिक वर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रुपमा खडा गर्नुपर्ने विचार व्यक्त गरेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend