logo
  • आइतबार, असोज १८ २०८३

हिंसात्मक आन्दोलन गरेर राजसंस्था फर्किदैन– कांग्रेस महामन्त्री शर्मा


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ३० २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै कर्मले राजाको बिदाइ भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने  बताउनुभएको छ।

नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले व्यवस्था परिवर्तन गर्ने भए जनतामा गएर दुई तिहाई सिट ल्याएर परिवर्तन गर्न चुनौती दिनुभयो। उहाँले भन्नुभयो, ‘आफू चुनाव लड्न नआए अरूलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस्।’

महामन्त्री शर्माले राजसंस्थाको रेल छुटिसकेकोले अब त्यो फर्कने कुनै पनि सम्भावना नै नरहेको प्रष्ट पार्नुभयो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिह्न लिएर चुनावी मैदानमा आएर निर्वाचनबाट दुई तिहाइ ल्याएर संविधान संशोधन गर्नसमेत उहाँले चुनौती दिनुभएको छ।

राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण जनतामा केही निराशा र आक्रोश देखिए पनि त्यसको विकल्प राजतन्त्र नभएको प्रष्ट पार्दै राजनीतिक दल सच्चिनुपर्ने शर्माले प्रष्ट पार्नुभयो।

महामन्त्री शर्माले नेपाली कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै गर्नुपर्ने बताउँदै २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न सबैसँग आग्रह गर्नुभयो। उहाँले सरकारले शिक्षकको आन्दोलनलाई सम्बोधन गर्न तत्काल गम्भीरता देखाउनुपर्ने भए पनि त्यो हुन नसक्नु दुखद भएको बताउनुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता–कार्यकर्ता इमानदार र अनुशासित भए मात्रै पार्टी मजबुत बन्ने बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेन्डा बोके पनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिनुभयो।

उक्त सम्मेलनलाई केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, डा. गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सम्बोधन गर्नुभएको थियो।

सम्मेलनमा कांग्रेस बाँकेका जिल्ला सभापति नारायणप्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो। सोही अवसरमा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको २०८२ सालको भित्तेपात्रो समेत विमोचन गर्नुभयो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend