माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ ।

सेतीमा वर्षौँदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको हो ।
नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षात्मा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताए। उनले भने, “धार्मिक आस्थाका स्थानसमेत जोखिममा रहेको र बढ्दो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दशा न्यूनीकरणको उद्देश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाइमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।”
रासस
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend