logo
  • शनिबार, असोज १७ २०८३

देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड


  • पब्लिक सूचना
  • शुक्रबार, माघ ११ २०८१

नेपालगन्ज, माघ ११ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडी बढ्नु पर्ने सुझाव दिनुभएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै प्रचण्डले सो बताउनुभएको हो । उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को उहाँले म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रका समस्याहरु बढ्दै गएको जनाउँदै त्यसका लागि उद्योगी व्यवसायीहरुद्वारा चिन्ता गरिनु स्वभाविक रहेको पनि बताउनुभयो । सबैले मिलेर गम्भीर चिन्तनका साथ अगाडी बढ्ने हो भने अझैपनि देशको आर्थिक अवस्थालाई धेरै माथि उकास्न सकिने संभावना कायमै रहेको उहाँको भनाइ थियो ।

पूर्व प्रधानमन्त्रीले थप्नुभयो, “देशमा केही पनि भएको छैन, सबै खत्तम भयो भन्ने भास्य बनाउन आवश्यक छैन, धेरै कामहरु भएका छन् र अझैपनि सबैले मिलेर अगाडी बढ्ने हो भने देशलाई समृद्ध बनाउन सकिन्छ ।”

आर्थिक विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन यस्ता महोत्सवहरुले निकै सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने गरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु किशोरसिंह राठौर र दिपा शर्माले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हालै ल्याईएको अध्यायदेशले ठुलो सहयोग गर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, महासचिव भीमबहादुर रानाभाट लगायतले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने माग गर्दै प्रादेशिक संरचनामा जाँदा बाँके र बर्दियालाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

माघ २२ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल, सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् ।

महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको सांस्कृतिक प्रस्तुती हुनेछ भने एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुने आयोजकले जनाएका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend