logo
  • आइतबार, असोज १८ २०८३

हुलाकी सडकको काम छिट्टै पूरा हुन्छ : मन्त्री दाहाल


  • पब्लिक सूचना
  • सोमबार, माघ ७ २०८१

बाँके, माघ ७ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन हुलाकी राजमार्गको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित पेडारी नालामा जीर्ण पुलको सोमबार स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले योजनाको काममा ढिलासुस्ती नहोस भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

निरीक्षणका क्रममा मन्त्री दाहालले पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने जानकारी दिनुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ ।’’

मन्त्री दाहाललाई सो अवसरमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य किस्मतकुमार कक्षपति लगायतले ५२ वर्ष पुरानो जीर्ण पुल जुनसुकै बेलामा पनि भत्किने जोखिम भएकाले छिटो नयाँ पुल बनाउन माग गर्नुभयो ।

यसैगरी, सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार ८०० मिटर लम्बाईको चारलेन सडकको काम सात वर्षसम्म पनि पूर्णता हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाई दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराएको गाउँपालिका अध्यक्ष विकले बताउनुभयो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले नेपालगन्जमा मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री दाहालसहित मन्त्रालयको टोली खजुरा पुगेर स्थलगत निरीक्षण गरेको जानकारी दिनुभयो ।

भण्डारी पेडारी नालामा करिब १४ करोडको लागतमा २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको पुल निर्माण हुने बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend