logo
  • आइतबार, असोज १८ २०८३

एमालेलाई अझ घेराबन्दीमा पार्ने काम भइरहेको छ : अध्यक्ष ओली


  • पब्लिक सूचना
  • मंगलबार, असार १९ २०८०

काठमाडौं, असार १८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई घेराबन्दी गरी सरकारमा जान नदिने षडयन्त्र जारी रहेको बताउनुभएको छ । सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

देश समृद्धि होस्, जनता सुःखी रहुन् भन्ने ध्येयका साथ आफूले काम गरेका कारण आफू र एमालेविरुद्ध विरोधीहरुले घेराबन्दी कायमै राखेको उहाँको भनाइ छ । देश र जनताको समृद्धिको काममा आफू र आफ्नो दल जहिले लागिरहने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गर्नुभयो । आफू सरकारमा सहभागी भएकाबेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता चार हजार बनाएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै मेरो लागि सबैभन्दा ठूलो प्राप्ती हो ।” आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुनेगरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको उहाँले चर्चा गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपाङ्गता भएका व्यक्तिहरु समेतको प्रतिमहिना चार हजार दिनेगरी प्रवन्ध मिलाउने काम गरेको छु, अनाथ बालबालिकाको खाने बस्ने व्यवस्था मिलाएको छु ।” नेपाल भिखमंगाको देश नभएको उहाँले बताउनुभयो ।

समृद्ध देश र जनतालाई सुखी बनाउनेगरी सरकारले काम गर्नुको विकल्प नरहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारको मुख्य ध्येय नै त्यही भएको बताउनुभयो । अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सबैभन्दा ठूलो सन्तुष्टि मिल्नेगरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक आश्रमलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend