logo
  • आइतबार, असोज १८ २०८३

एउटा पुलले बदलेको सुस्ता


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ५ २०८१

नवलपुर, कात्तिक ५ गते । नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ । यहाँका साढे तीन सय परिवार सधैँभरि सुस्ता बचाउन लडिरहे । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन ।

त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय नागरिकले दिएको सास्ती सुस्तावासीले अझै बिर्सेका छैनन् । अहिले नारायणी नदीमा बनेको नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलले सुस्ता बदलिँदै गएको छ ।

पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिका–५, सुस्तालाई जोड्ने गरी बनेको पुलको गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । एक हजार ५७१ मिटर लामो र १.६ मिटर चौडाइको पुलमा अब हिँडडुलसँगै साइकल, मोटरसाइकल र स्कुटर पनि कुदाउन सकिन्छ ।  पुलमा १४ वटा पिल्लर रहेका छन् । हरेक २०३.८ मिटरमा पिल्लर खडा गरी बनाइएको पुलले प्रतिमिटर ३६० किलोग्राम भारवहन गर्न सक्ने क्षमता छ । यो पुल निर्माणका लागि निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोड ६५ लाख ९८ हजार आठ सय रुपियाँमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो ।

२०७२ असोजमा निर्माण सुरु गरिएको पुल २०७५ पुसमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले काम अलपत्र पारेर पटक पटक सम्पर्कविहीन भएपछि सम्झौताभन्दा छ वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।

पुल नहुँदाको सकस

नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता रहेको सुस्ता बचाउ अभियानका संयोजक आदम खानले बताउनुभयो । “अब भने त्यो यातनाबाट मुक्ति मिलेको छ, वर्षाको समयमा जोखिमपूर्ण डुङ्गा यात्रा र भारतीय बाटो प्रयोग गर्न बाध्यात्मक अवस्था हटेको छ,” संयोजक खाँले भन्नुभयो, “बल्ल नेपाली भएको महसुस भएको छ ।”

नारायणी नदीपारि भारतको विहारसँग जोडिएको सुस्ता भूमि जिल्लाको सुस्ता गाउँपालिका–५ को एक गाउँ हो । पुल बन्नुअघि त्यहाँ पुग्नका लागि साढे दुई किलोमिटर डुङ्गामार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । वर्षाको बेला नारायणीको उच्च बहावका कारण नदीमा डुङ्गा चलाउन जोखिम भएपछि भारत विहारको बाटो हुँदै आवतजावत गर्नुपर्ने अवस्था थियो ।

पुलसँगै आयो बिजुली पनि

पुल नहुँदा सुस्तामा राष्ट्रिय प्रसारणको लाइन पुग्न सकेको थिएन तर नारायणी नदीमा सुस्ता जोड्ने पुल बनेसँगै सुस्तावासीको पीडामा मलम लगाउने काम गरेको छ बिजुलीले । असोज १० गते पुलको उद्घाटनसँगै राष्ट्रपति पौडेलले पुलबाटै सुस्तामा लगिएको एकीकृत राष्ट्रिय विद्युत प्रसारण लाइनको विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५, सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी पुलबाटै सुस्तामा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् विस्तार गरेको हो । प्राधिकरणका अनुसार पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना गरेर दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी बस्तीमा विद्युत् पुर्‍याइएको हो ।

प्राधिकरणले २०७९/८० मै सुस्तामा विद्युतीकरणको काम सुरु गरेको थियो तर पोल गाडेर नारायणी नदी पारि तार लैजान सम्भव नभएपछि सुस्तामा राष्ट्रिय प्रसारणको लाइन पुग्न सकेको थिएन । एक करोड ३३ लाख रुपियाँको लागतमा सुस्तामा विद्युतीकरणको काम भएको गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो । पुल उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले सुस्तावासीलाई एक वर्षको बिजुली छुट दिने घोषणा पनि गर्नुभएको छ ।

पुलले बढायो आन्तरिक पर्यटन

पुल निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । औपचारिक उद्घाटन भएसँगै पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको सुुस्ता–५ का अध्यक्ष अहिरले बताउनुभयो । पुल निर्माणपछि यहाँका स्थानीय उत्साही भएको उहाँको भनाइ छ ।

“पुल निर्माण भएसँगै हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन्,” अध्यक्ष अहिरले भन्नुभयो, “अहिले त यहाँ मेला जस्तै भिडभाड हुने गरेको छ, पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

जनता दलित आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक उदयबहादुर रुचान नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साही बनेको बताउनुहुन्छ । “सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ,” रुचानले भन्नुभयो, “हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्ने छ ।”

चौध हजार हेक्टर जमिन अतिक्रमण

सुस्ता–५ का अध्यक्ष प्रभुनाथ अहिरका अनुसार नारायणीपारिको सुस्ता गाउँपालिका–५ मा झन्डै ३५० घरधुरीमा तीन हजार दुई सयभन्दा बढी नेपाली बसोबास गर्छन् । करिब ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि बर्सौंदेखि नै भारतीय पक्षद्वारा अतिक्रमण हुँदै आएको छ ।

हालसम्म १४ हजार हेक्टर क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण भइसकेको सुस्ता बचाउ अभियानका संयोजक खानको भनाइ छ । १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगमा रोक लगाएको छ । हाल करिब सात हजार हेक्टर जग्गामा सुस्तावासीको जग्गाजमिन र बसोबास रहेको अध्यक्ष अहिले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५५६ बिघा क्षेत्रफलको मात्र लालपुर्जा सुस्तावासीको नाममा छ ।

“यहाँ अझै पनि बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता समस्या यथावत् रहेको बताउनुहुन्छ,” संविधान सभा सदस्य देवकरण कलवार । त्यसबाहेक नागरिकता प्राप्त गर्न नसक्नु यहाँको अर्को समस्या हो । सुस्ता बचाउ अभियानका संयोजक आदम खाँका अनुसार उमेर पुगिसकेका करिब एक हजार छ सय जनाले नागरिकता पाउन सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend