logo
  • शनिबार, असोज १७ २०८३

राससलाई सुधार गर्न सुझाव


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ४ २०८१

काठमाडौँ, कात्तिक ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार उत्पादन तथा वितरणको केन्द्रविन्दु (इपिसेन्टर) रहेको बताउनुभएको छ ।

राससलाई शनिबार दिनुभएको अन्तर्वार्तामा उहाँले समाचार सेवामा अथक महत्व बोकेको राससले सबै सञ्चार माध्यमलाई सुहाउने समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताउँदै संस्थागत क्षमता वृद्धि गर्न र आन्तरिक रूपमा केही सुधार गर्न सुझाव दिनुभयो ।

“पछिल्लो समय सञ्चार गृह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । राससले पनि आफ्ना गतिविधि र उत्पादन समयसापेक्ष र प्रविधिमैत्री बनाउन जोड दिनु पर्छ,” सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “राससलाई सूचना प्रविधिमैत्री बनाउनु पर्छ, जनशक्तिको कार्यक्षमता बढाउनुका साथै व्यवस्थापनमा पनि ख्याल गर्नु पर्छ । राससले कार्यशैली नीति, रणनीति र ऐन पनि संशोधन गर्नुपर्ने छ ।”

राससले पछिल्लो समय चौबिसै घण्टा सेवा सञ्चालन गर्दा सञ्चार क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले पाएको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “बाढी र प्रकोपका बेला राससले सूचना प्रवाहमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ, सेवा दिनमा रासस अब विश्राम लिँदैन भन्ने कामबाटै पुष्टि भएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो ।”

राससको सेवा विस्तार हुँदै गए पनि त्यस अनुसार जनशक्तिको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय मन्त्रालयले गरेका कामका बारेमा राससले समाचार बनाउनुपर्नेमा जोड दिनुभयो । “२२ वटा मन्त्रालयले के काम गरिरहेका छन् भन्ने कुरा जनताले थाहा पाउनु पर्छ,” उहाँले भन्नुभयो ।   रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend