logo
  • आइतबार, असोज १८ २०८३

भ्रष्टाचारविरुद्ध खबरदारी गरिरहन्छौैं : अध्यक्ष प्रचण्ड


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३० २०८१

विराटनगर, भदौ २९ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाउन खोजे सदन र सडकबाट खबरदारी गर्ने बताउनुभएको छ।  वर्तमान सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्नका लागि बनेको जिकिर गर्नुहुँदै सुशासनको विरुद्धमा नजान उहाँले सत्ता गठबन्धनमा आवद्ध दुई ठूला पार्टीलाई आग्रह गर्नुभयो।

मोरङको ग्रामथान गाउँपालिकास्थित नेता चोकमा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारविरूद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने सकारात्मक प्रयत्न गरेको बताउनुभयो।

बिनाकारण आफू नेतृत्वको सरकार ढालेपछि अभियोगको भारी नबोकी विजयी भावमा बाहिरिएको तर दुई तिहाई शक्तिसहित पराजित मानसिकता र डर बोकेर ठुला दलहरु सरकारमा गएको उहाँले बताउनुभयो।  अध्यक्ष प्रचण्डले सदन र बाह्य खबरदारीलाई दुई तिहाइको बलमा बेवास्ता गरेमा सडकमा ओर्लनका लागि जनतालाई अपिल गर्ने भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो।

पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काँग्रेस–एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताउनुभयो।

पछिल्लो समय जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्‍याउने दाबी गर्नुभयो।

मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कर्मचारी कुलमान घिसिङलाई हटाउन खोजेर वर्तमान सरकारले सुशासनका विरुद्धमा काम गरिरहेको भन्दै त्यस्तो गरेमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभयो।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद अमनलाल मोदीले वर्तमान सरकार भ्रष्टाचार काण्डबाट बच्नकै लागि बनेको भन्दै जनस्तरबाट त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो।  कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेता नमोनारायण चौधरीको नेतृत्वमा सयौंलाई माओवादी पार्टीमा स्वागत गर्नुभएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend