logo
  • आइतबार, असोज १८ २०८३

सेयर बजारमा ‘हेड एण्ड सोल्डर’ देखेर किन आत्तिए लगानीकर्ता?


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २७ २०८१

सेयर बजारमा अहिले धेरै लगानीकर्ता नेप्सेमा बनेको ‘हेड एण्ड सोल्डर’ आकृतिका बारेमा छलफल गरिरहेका देखिन्छन्। यससँगै अब बजार थप घट्न थाल्ने हो कि भनेर कतिपय आत्तिएका छन्। के हो त नेप्सेमा देखिएको यो हेड एण्ड सोल्डर आकृति? यसले के संकेत गर्छ?  हेड एण्ड सोल्डर प्याट्रन कुनै एक अमुक व्यक्तिले बनाएको होइन। बजारमा लगानीकर्ताको व्यवहार अध्ययनको क्रममा यो प्रवृत्तिको आफै विकास हुँदै गयो। २० औं शताब्दीको सुरूआतताका नै यस सम्बन्धी लेखिएका अभिलेखहरू पाइएको मानिन्छ।  यो प्रवृत्तिमा तीन वटा मुख्य उचाइ हुन्छ। बीचको उचाइ अलि माथि हुन्छ र यसलाई हेड अर्थात् टाउको मानिन्छ।  यसरी टाउको दायाँबायाँ कुम रहे जसरी दुई साना-साना उचाइ बनेमा यसलाई हेड एण्ड सोल्डर आकृति बनेको मानिन्छ।

हेड एण्ड सोल्डरमा बन्ने आकृति दुरूस्तै हुनुपर्छ भन्ने हुँदैन। केही तलमाथि देखिने गरेर पनि बन्न सक्छ। बजार बढ्दा बन्ने यस्तो आकृतिलाई हेड एण्ड सोल्डर भनिन्छ।

बजार घट्दा पनि न्यूनतम तहमा पुगेर यस्ते आकृति बन्न सक्छ। यसलाई भने इन्भर्टेड हेड एण्ड सोल्डर अर्थात् उल्टो हेड एण्ड सोल्डर आकृति भनिन्छ।यी आकृतिहरूले बजारमा यसअघिको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गर्छ। यदि बढ्दो बजारमा हेड एण्ड सोल्डर बनेको छ भने बजार अब घट्न थाल्छ भन्ने विश्लेषण गर्न थालिन्छ। घट्दो बजारमा ‘इन्भर्टेड हेड एण्ड सोल्डर’ बनेको छ भने अब बजार बढ्न थाल्छ भनेर विश्लेषण गरिन्छ।

यो संकेत देखिन थालेको पुष्टि गर्ने आधारहरू पनि हुन्छन्। त्यो हो यो आकृतिमा देखिने ‘ब्रेक आउट’ विन्दु। यस्तो आकृतिमा कुम बन्ने क्रमको न्यूनतम विन्दुहरू नै ब्रेक आउट विन्दु हो। यसलाई पार गरेमा बजार थप घट्ने वा बढ्ने हुन्छ भनेर मानिन्छ।

नेप्सेमा पनि अहिले यस्तै आकृति बनेको हो। यो आकृतिमा पहिलो उचाइ २७९६ विन्दुमा, दोस्रो उचाइ ३००१ विन्दुमा र तेस्रो उचाइ २८३० विन्दुमा बनाएको छ।

head-and-soulder-1726049129.jpg
पहिलो उचाइबाट घटेपछि नेप्से २६५१ बाट पहिलो पटक फर्कियो र ३००१ को उचाइमा टाउको (हेड) बनायो। त्यसपछि बजार घटेर २६९६ मा पुग्यो र बजार केही बढ्यो। तर, २८३० पुगेर फेरि बजार ओरालो लाग्यो। बुधबार बजार बन्द हुँदा नेप्से २६१०.२१ विन्दुमा छ।

यो प्रवृत्तिमा २६९३ मा ब्रेक आउट विन्दु बनाएको छ। यसबाट ओर्लिए बजार थप घट्छ भन्ने मानिन्छ। सामान्यतः यस्तो प्रवृत्तिमा बन्ने उचाइदेखि कुमका न्यून विन्दुको अन्तर जति अंक छ।

त्यति नै तलसम्म बजार आउने मानिन्छ। कारोबार रकम घट्दै गएमा यो संकेतमा विश्वस्त हुन सकिने मानिन्छ। यही कारण पनि धेरै लगानीकर्ता अब बजार थप केही घट्छ कि भन्ने आशंकामा देखिएका हुन्।

प्रवृत्ति परिवर्तनमा हेड एण्ड सोल्डर विश्वासिलो मानिन्छ। तर, बजारलाई एउटै विश्लेषणबाट मात्र हेर्न नहुने सुझाव विश्लेषकहरू दिन्छन्। अहिले अन्य प्राविधिक औजारहरूले पनि बजार घट्ने प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ। तर, केही समयमै बजार फेरि बढ्न सक्ने संकेत पनि तिनले गरिरहेका छन्।

बजार विश्लेषणमा हेरिने अर्को औजार ‘फिवोनाची रिट्रेसमेन्ट’ले नेप्सेले ३००१ को विन्दुबाट २६६० आसपासमा हुने ३३ प्रतिशतको रिट्रेसमेन्ट पार गरेको देखाइरहेको छ र २५३७ मा हुने ५० प्रतिशतको रिट्रेसमेन्ट तह नजिकै आउन लागेको संकेत गरिरहेको छ।

यी दरिला टेवा विन्दु हुन्। २६६० देखि २५३७ को बीचबाटै पनि बजार फर्किन सक्ने संकेत यसले गर्छ।

बजारलाई प्राविधिक पक्षबाट मात्रै विश्लेषण गर्नु सही हुँदैन। अहिले कम्पनीहरूले लाभांश घोषणा गर्न थालिरहेका छन्।

बैंकहरूले असोजमा निक्षेप र कर्जाको लागि दिने ब्याजदर नबढ्ने संकेत गरेका छन्।

उपभोगमा सोचेजस्तो वृद्धि नदेखिए पनि गत वर्षभन्दा यसपटक कर्जा विस्तार राम्रो भएकोले अर्थतन्त्र चलायमान हुन थाल्ने संकेत देखिँदै गएको छ। यस्ता पक्षहरूलाई पनि लगानीकर्ताहरूले ख्याल गर्नुपर्ने हुन्छ।

बजार केही घटेमा पनि लाभांश क्षमता राम्रो भएको, गत वर्षभन्दा वित्तीय विवरणमा सुधार हुँदै गइरहेको र भविष्यमा थप सुधार हुने संकेत देखिएका कम्पनीहरूलाई हेरेर लगानी गर्नु सही हुन्छ।

head-and-shoulder-1726048995.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend