logo
  • आइतबार, असोज १८ २०८३

४२ दिने शिशुको हातबाट जुस पिएर कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले तोडे अनशन


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २७ २०८१

२७ भदौ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले सरकारसँगको सहमतिपछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।

विराटनगर महानगरपालिका- ६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको खर्च अभावमा  ७ दिन विराट नर्सिङहोम बस्न बाध्य थिए । उनलाई कार्कीकै पहलमा अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएको थियो । बुधबार राति सरकारसँगको सहमतिपछि उनै शिशुको हातबाट उनले जुस पिएका हुन् । कार्कीले मंगलबारबाट अनशन सुरु गरेका थिए ।

कार्कीले उठाएका ९ बुँदे माग पूरा गर्न सरकार तयार भएको सन्देश लिएर आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी अनशनस्थल पुगेका थिए । मन्त्री अधिकारीले पूर्वमुख्यमन्त्री कार्कीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।  प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार वार्ता भएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै आमरण अनशन सुरु गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend