पब्लिक सूचना
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै छ। संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको पेशी रहेको छ । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि फैसला हुन नसकेको हो । न्यायाधीश राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका थिए ।
गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो।
२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।
सर्वोच्चले फैसला गर्दै अनुसन्धान अघि बढाउनु र सापकोटालाई पक्राउ गर्न आदेश दिनुपर्ने माग निवेदकले उठाएका छन् भने प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउन लागेको हो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend