logo
  • आइतबार, असोज १८ २०८३

नेपाललाई प्याजमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत


  • पब्लिक सूचना
  • बिहिबार, असार १४ २०८०

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले 'विनियोजन विधेयक २०८०' पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल / रासस

काठमाडौं, असार १४  गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।

उहाँले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताउनुभयो। उहाँले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादक साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउनुभयो।

उहाँले आन्तरिक उत्पादनको सप्लार्यस पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताउनुभयो। अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीको समूह रहेको बताउनुभयो। उहाँले गोलभेडा नेपालमा उत्पादन हुँदा हुँदै आयातका कारण उत्पादकहरुले सडकमा फालिरहेको बताउनुभयो।

उहाँले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले प्रवेश पाउने अवस्था रहेको बताउनुभयो। उहाँले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताउनुभयो। उहाँले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने प्रष्ट पार्नुभयो। उहाँले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकलाई हौसला दिने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो,‘मुलुक आलुमा आत्मनिर्भरतातर्फ अघि बन्दै गएको छ। प्याजमा पनि आत्मनिर्भरतर्फ जानैपर्छ। त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो। एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं। आन्तरिक उत्पादनमा पनि कर लाग्ने भयो भन्ने प्रश्न उठेको छ ? धादिङ, काभ्रे, नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ। उनीहरु भ्याटको परिधि भित्र आउँदैनन्। कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीको समूह छ।  उनीहरुको बलियो नेटवर्क छ। त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन। बाहिरबाट आएको प्रवेश गर्छ। मुलुकभित्र नै साना–साना उत्पादन गर्नेलाई यो भ्याट लाग्दैन। विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ।’’

उहाँले नेपाली उत्पादन ठूला स्टोरमा पुगेपछि भने भ्याट लाग्ने बताउनुभयो। यो व्यवस्थाले आम उपभोक्तालाई समस्या नपर्ने उहाँको भनाइ छ। अर्थमन्त्री महतले थप भन्नुभयो, ‘‘डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ। डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ। साना–साना पसलमा कुनै भ्याटको व्यवस्था छैन। भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोरबाहेक अन्य कुनैमा लाग्दैन। यो भ्याटले नेपाली उत्पादकलाई हौसला दिन्छ। यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन।’’

अर्थमन्त्री महतले सूर्तीजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताउनुभयो। उहाँले सूर्तीजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भए पनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारलाई सूर्तीजन्य वस्तु प्रतिबन्ध गर्न समस्या नभएको बताउनुभयो।

अर्थमन्त्री महतले नेपालको सूर्तीजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वमा नै बढी रहेको जानकारी दिनुभयो। अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गर्नुभयो। उहाँले पाँच तारे होटलमा जाने ग्राहकको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताउनु भयो।

उहाँले १० लाख भन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताउनुभयो। उहाँले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको उहाँको भनाइ छ। उहाँले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताउनुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend