logo
  • आइतबार, असोज १८ २०८३

उपचार अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै विरोध प्रदर्शन


  • पब्लिक सूचना
  • आइतबार, साउन २७ २०८१

रकम अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै पीडितहरूले शवसहित र्‍याली निकालेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले र्‍याली निकालेको हो।

‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष कुशलव केसीले भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए।’

पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ। संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो।

कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ।

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ। महासंघले मृतकको शवसहित माइतीघर मण्डलासम्म र्‍याली गर्नेछ।

पीडितहरू गत जेठ ११ गतेदेखि रिले अनसनमा छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्।

महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend