logo
  • शनिबार, असोज १७ २०८३

देशका लागि स्वर्ण जितेपछि दोधारमा प्रियंका!


  • पब्लिक सूचना
  • सोमबार, साउन १४ २०८१

उमेरले ६० वर्ष पुग्नै लागेकी नैनाकली शाही सुर्खेतको वीरेन्द्रनगर बजारमा मकै पोलेर बेच्छिन्। दैनिक यही काम गरिरहेकी उनी गत मंगलबार डेरामै बसिन्, कामबाट छुट्टी लिइन्।

त्यो दिन उनले दिउँसै केक किनेर ल्याइन्। उनी दंग थिइन्, किनभने उनकी छोरी प्रियंका शाही देशका लागि स्वर्ण पदक जितेर आउँदै थिइन्।

प्रियंकालाई खेलाडी टिमले जसरी काठमाडौंमा स्वागत गरेको थियो, त्यस्तो तामझाम सुर्खेतमा गरिएन। तर परिवारले खुसी मनायो। आमा नैनाकलीसहित बुबा नैन, दाजुहरू, दिदी र आफन्तहरू जम्मा भएर केक काटे। उनको स्वागत गरे।

प्रियंकाले यही जुलाई १८-१९ मा भुटानको राजधानी थिम्पुमा भएको साउथ एसियन कराते च्याम्पियनसिपमा भाग लिएकी थिइन्। २१ वर्षमुनिको ४५ केजी तौल समूहमा खेलेकी प्रियंकाले प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक जितिन्।

‘स्वर्ण जितेकामा सबभन्दा धेरै खुसी आमाबुबा हुनुभयो,’ प्रियंकाले भनिन्।

प्रियंका जाजरकोटको शिवालय गाउँपालिकाकी हुन्। ६ सन्तानमध्येकी कान्छी प्रियंकाअघि चार दाइ र एक जना दिदी छन्। उनको परिवार अहिले प्रदेश राजधानी वीरेन्द्रनगरमा बस्छ। प्रियंकाका आमाबुबा पहिले सानो होटल चलाउँथे, कोरोनापछि छाडे।

होटल व्यवसाय छाडेपछि परिवारको खर्च जुटाउन नैनाकलीले फुटपाथमा व्यवसाय गर्न थालेकी हुन्।

shahiji-1722167754.jpeg

प्रियंकालाई सानैदेखि खेलमा रूचि थियो। सुर्खेत आउँदा जम्मा दुई वर्षकी उनी वीरेन्द्रनगरको नेपाल राष्ट्रिय मावि पढिन्। त्यो स्कुलमा कराते प्रशिक्षक थिए। कक्षा ५ पढ्दादेखि नै उनले कराते खेल्न थालिन्। सुरूमा रहरले खेले पनि राम्रो नतिजा आउन थालेपछि यसमै केही गरेर देखाउने उद्देश्य राखिन्।

‘९ वर्षकी हुँदादेखि सिक्न थालेँ। दुई वर्षपछि प्रतियोगितामा पनि भाग लिन थालेँ। राम्रो हुँदै गयो। बिस्तारै जिल्ला स्तरीय प्रतियोगितामा खेल्ने अवसर पाएँ,’ उनले भनिन्।

कक्षा ८ मा पढ्दा पहिलोपटक जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएकी थिइन्। सुर्खेतको गुर्भाकोटमा भएको उक्त प्रतियोगितामा पहिलो भइन्। त्यसको ८ महिनापछि काठमाडौंमा भएको एपिएफ इन्टरनेसनल कराते च्याम्पियनसिपमा भाग लिइन्। त्यसमा भने तृतीय स्थानमा चित्त बुझाउनुपर्‍यो।

‘त्यति बेला पढाइलाई बढी समय दिएकाले तालिमको समय पुगेन,’ उनले भनिन्, ‘पहिलोपटक राजधानीमा गएर खेल्नुपरेकाले पनि होला, खासै आत्मविश्वास बढेको थिएन।’

यसरी अगाडि बढ्दै आएकी प्रियंकाको कोठामा अहिले मेडलहरू र प्रमाणपत्र टाँगिएका छन्। अहिलेसम्म उनले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका १५ भन्दा बढी प्रतियोगितामा भाग लिइसकिन्। एक वर्षअघि इन्डिया ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा दुई स्वर्ण जितेकी थिइन्। पछिल्लो पटक भुटानमा स्वर्ण जितेर आएकी हुन्।

‘भुटानमा स्वर्ण जित्दा आत्मविश्वास झन् बढ्यो,’ उनले भनिन्।

छोटो समयमै प्रियंकाले करातेमा राम्रो भविष्यको सम्भावना देखाएकी छन्। तर परिवारको आर्थिक अवस्थाले उनलाई दोधारमा पारिदिएको छ।

‘खेल लत जस्तै रहेछ, छोड्न मन नलाग्ने। आफ्ना नतिजाहरू नियाल्दा पनि यसमै निरन्तरता दिनुपर्छ भन्ने लाग्छ,’ प्रियंकाले भनिन्, ‘अर्कोतिर खेल भविष्यमा अझै केही समय लगानी गर्नुपर्छ। यो जिम्मेवारी उमेर ढल्किएका आमाबाबालाई कति बोकाउनु भन्ने पनि लाग्छ। आर्थिक अवस्था कमजोर छ, त्यसैले जागिर खानुपर्छ कि विदेश जानुपर्छ होला भन्ने पनि लाग्छ।’

अहिले जे भए पनि, कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने भाग लिने सोच उनले बनाएकी छन्।

उद्देश्य त अझै पनि एसिया कप लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिने र राम्रो नतिजा ल्याउने छ। तर यो उद्देश्य पूरा हुने, नहुनेमा उनी आफै ढुक्क छैनन्।

खेलाडीलाई राज्यले व्यवस्थापन गर्न नसकेको उनलाई महसुस भएको छ।

‘खेलाडीलाई देशको सम्पत्ति भनिन्छ, तर राज्यले सुविधा दिनै सकेको छैन,’ उनले भनिन्, ‘मैले भुटानमा जितेको स्वर्ण मेरो मात्र नभएर देशको हो। देशका लागि राम्रो गरेका खेलाडीलाई सरकारले व्यवस्थापन गरिदिएको भए हुन्थ्यो नि!’

Priyanka-Shahi1-03-1722167433.jpgPriyanka-Shahi3-02-1722167434.jpg

प्रतियोगितामा भाग लिन भुटान जाँदा आधा खर्च उनले आफै व्यवस्थापन गरेकी थिइन्। उनका अनुसार स्वर्ण जितेका खेलाडीले त्यो खर्च फिर्ता पाउने कुरा थियो। पछि रद्द भएको सुनेपछि मन खिन्न भएको उनले बताइन्।

‘कति मुस्किलले पैसा जुटाउनुपरेको थियो। यसरी दुःख गरेर खेले पनि राम्रो हुँदा हौसला मिल्छ। खेलमै जीवन बिताउन पाए हुन्थ्यो भन्ने लाग्छ। तर घरको आर्थिक अवस्था देख्दा समयमै कमाउनतिर लाग्नुपर्छ भन्ने लागेको छ,’ प्रियंकाले भनिन्।

उनले थप भनिन्, ‘आमाले कहिले मकै पोलेर, कहिले तरकारी-साग बेचेर मेरा लागि संघर्ष गर्नुभएको छ। मलाई अझै पनि आफ्नो लक्ष्यमा पुग्दासम्म घरबाटै केही खर्च बेहोर्नुपर्ने हुन्छ। कसरी धान्न सकिएला र! त्यसैले दोधार भइरहेको छ।’

हुन पनि प्रियंकाले खेल जीवनमा पाएको सफलतामा आमाबुबाको साथको ठूलो भूमिका छ।

‘आमाबुबाले हामी सक्दैनौं, खेलमा कमाइ हुँदैन, छाडिदे भनेको भए म यहाँसम्म आउनै सक्थिनँ,’ उनले भनिन्, ‘तर उहाँहरूले दुःख गरेरै मलाई साथ दिनुभएको छ।’

प्रियंका केही समययता सुर्खेतकै एक स्कुलमा कराते प्रशिक्षकका रूपमा काम गर्दैछिन्। यो कामबाट सामान्य खर्च जुट्छ। तर आफू खेल्दै सिकाउन समय मिलाउन उनलाई कठिन भएको छ। उनले अब केही प्रतियोगिता खेलेर नेपाली सेनामा जागिर खाने प्रयास गर्नुपर्छ कि भन्ने पनि सोचेकी छन्। सेनाभित्रबाट खेल्न पाइने भएकाले यस्तो सोच बनाएको उनले बताइन्।

उनकी आमालाई भने छोरीको उद्देश्य पूरा भयो भन्ने लागेको छ। विदेश गएर खेल्नु छोरीको मुख्य उद्देश्य थियो कि भन्ने उनको बुझाइ छ।

‘तिमी आफ्नो उद्देश्य पूरा गर, म सहयोग गर्छु भनेर अहिलेसम्म उसलाई साथ दिएँ,’ नैनाकलीले भनिन्, ‘उसका लागि दुःख पनि गरेँ। मेरो साथ र संघर्षले केही उद्देश्य पूरा भयो कि भन्ने लागेको छ।’

बुबा नैन शाहीले त्यसमै थपे, ‘अब छोरीले खेल्दासम्म र हामीले सक्दासम्म साथ दिने हो। संघर्ष गर्ने हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend