पब्लिक सूचना
काठमाडौं, असार १२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताउनुभएको छ। मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो।
उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रविद्धता अनुसार अघि बढिरहेको बताउनुभयो। उहाँले मुलुकलाई भ्रष्टाचार अन्त्य गरेर सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताउनुभयो।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको बताउनुभयो। उहाँले सरकारले अनुसन्धान कुन तहसम्म पुर्याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्याउँछ त्यहाँसम्म पुग्ने बताउनुभयो।
उहाँले भन्नुभयो,‘‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात हुँदैन। यस्तो कुरामा गहिरो अध्ययन अनुसन्धान हुन्छन्। प्रमाण पुर्याउनुपर्ने हुन्छ हठात भन्ने कुरा हुँदैन। यो लामो समयदेखि अनुसन्धानमा थियो। केही व्यक्ति पक्राउ परेको कुरा आएको छ। सरकारले सुशासन कायम गर्ने भ्रष्टाचारविरुद्धमा लड्ने भन्ने प्रतिवद्धता गरेको छ। प्रतिवद्धता अनुसार काम अघि बढाएको छ। यो गहिरो अध्ययन अनुसन्धानबाट मात्रै बाहिर आएको छ। भ्रष्टाचार गर्नेहरु तल्लो र माथिल्लो तह भन्ने हुँदैन। भ्रष्टाचार कुन तहकाले गर्यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा मुख्य हो। भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्ने भन्दा पनि जसको विरुद्धमा प्रमाण पुग्छ। जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ। उनीमा आकर्षित हुने हो। कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्याउँछ भन्ने कुरा हो। सरकार ढल्ने हल्ला मैले सुनेको छैन। सरकार ढल्नुपर्ने कारण केही छैन। सरकार राम्रोसँग चलिरहेको छ। सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएको छ। यस्तो बेलामा हल्ला चलेको छ भने अफवाह हो।’’
उहाँले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पुर्याएको आधारमा अघि बढेको बताउनुभयो। उहाँले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताउनुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend