पब्लिक सूचना
युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग चीनको ग्वाङ्जाओमा भेट गरेका छन्।
दुई महिनाअघि मात्र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सार्वजनिक रूपमै चीनको आलोचना गरेका थिए। अहिले उनकै विदेशमन्त्री चीन पुगेर आफ्ना समकक्षीसँग भेट गरेका हुन्।
जुन महिनाको सुरूमा राष्ट्रपति जेलेन्स्की सिंगापुर भ्रमणमा गएका थिए। त्यही क्रममा उनले युक्रेनले स्विट्जरल्यान्डमा आयोजना गर्न लागेको शान्ति सम्मेलनमा भाग नलिनू भन्दै चीनले अरू देशलाई भड्काएको आरोप लगाएका थिए। उनले त्यस्तो आरोप लगाएको दुई महिना नबित्दै युक्रेनी विदेशमन्त्रीले चिनियाँ समकक्षीसँग भेट गरेर घन्टौं कुरा गरेका छन्।
यी दुईको यो भेटवार्तालाई बडो चासोका साथ हेरिएको छ। युद्ध रोक्नका निम्ति युक्रेन संवाद गर्न र चीनको भूमिका स्वीकार गर्न तयार छ भन्ने यो भेटले देखाएको चर्चा हुन थालेको छ।
‘युक्रेनमा न्यायपूर्ण शान्ति हुनु चीनको रणनीतिक हितमा छ भन्नेमा म विश्वस्त छु,’ भेटपछि एक विज्ञप्ति निकाल्दै कुलेबाले भनेका छन्।
उनले शान्तिका लागि विश्व शक्ति चीनको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए। त्यस्तै रूसले साँच्चै विश्वासिलो वार्ता गर्न चाहे युक्रेन तयार भएको समेत उनले बताए। तर रूस अहिल्यै त्यसका लागि तयार नदेखिएको पनि उनको भनाइ थियो।
कुलेबा सन् २०२२ फेब्रुअरीमा पहिलोपटक चीन भ्रमणमा गएका थिए। त्यो बेला रूसले भर्खरै युक्रेनमा आक्रमण सुरू गरेको थियो।
उता रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमला गर्नुअगाडि बेइजिङ गएका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि रूस र चीनले ‘नो लिमिट्स फ्रेन्डशिप’ घोषणा गरे। युक्रेनमा आक्रमण गर्नुभन्दा तीन साताअघि भएको उक्त भेटमा पुटिनले चीनलाई आक्रमणको योजनाबारे जानकारी दिएको पनि बताइन्छ। चीनले आक्रमणका लागि सहमति दिएको वा नदिएको विषय भने यकिन छैन।
अमेरिका लगायत पश्चिमा राष्ट्रले आर्थिक नाकाबन्दी लगाएपछि रूसी तेलको सबभन्दा ठूलो खरिदकर्ता अहिले चीन नै हो। दुई देशबीच व्यापक व्यापार वृद्धि भएपछि रूसलाई भरथेग भएको छ। चीनले रूसलाई हतियार भने दिएको छैन। तर हतियार बनाउन चाहिने सामग्री दिइरहेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
पुटिनले अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि गत मेमा पहिलो विदेश भ्रमण पनि चीनकै गरे। युक्रेनमाथि आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सीले पनि रूस भ्रमण गरेका थिए। पछिल्लो चीन भ्रमण क्रममा पुटिनले रूस र चीनबीच सहकार्यको नयाँ युग सुरू भएको घोषणा गरेका थिए।
युक्रेनसँगको युद्धपछि रूस चीनसँग धेरै निर्भर छ।
दुई साताअघि नेटोको ७५ औं वर्षगाँठमा अमेरिकाको वासिङटनमा आयोजित ३२ सदस्य राष्ट्रको शिखर सम्मेलनले युक्रेनविरूद्ध रूसको युद्धमा चीनले भरथेग गरेको आरोप लगायो। यति मात्र होइन, रूसी सेनाको हतियारमा प्रयोग हुने सामान र अरू प्रविधिको ढुवानी रोक्न पनि माग गर्यो। रूसलाई सहयोग गरे चीनले त्यसको मूल्य चुकाउनुपर्ने अप्रत्यक्ष चेतावनी पनि दियो।
यसरी चीनले रूसलाई युद्ध लड्न भरथेग गरिरहेको छ। यस्तो अवस्थामा चीनले युद्ध रोक्ला भनेर युक्रेनले आशा गर्नु आफैमा अनौठो कुरा हो। जसरी रूसले युक्रेनसँगको युद्धलाई ‘युद्ध’ नभनेर ‘विशेष सैन्य अपरेसन’ भन्छ, चीनले पनि ‘संकट’ मात्रै भनिरहेको छ।
जुन महिनामा युक्रेनले स्विट्जरल्यान्डमा आयोजना गरेको शान्ति सम्मेलनमा रूसलाई निम्ता नगरेको भन्दै चीन सहभागी समेत भएको थिएन।
अनि, गत वर्ष युद्ध रोक्न चीनले गरेको प्रस्ताव रूसलाई मात्र फाइदा हुने खालको भनेर युक्रेनले ठाडै अस्वीकार गरेको थियो।
यस्तो अवस्थामा युक्रेनका विदेशमन्त्री कुलेबाले चीनको भ्रमण किन गरे त?
रूसलाई युद्ध गर्न चीनले भरथेग गरेको भनेर नेटोले लगाएको आरोप सही वा गलत जे भए पनि, रूसमाथि चीनको प्रभाव छ भन्ने सत्य हो।
अर्को सत्य के पनि हो भने, चीनको सहभागिताबिनै रूस-युक्रेन युद्ध टुंगिने भयो भने पनि, रूसले फेरि आक्रमण गर्दैन भन्ने ग्यारेन्टी चाहिँ अहिलेको समयमा चीनले मात्रै दिन सक्छ।
अहिले युक्रेनी विदेशमन्त्रीले चीन भ्रमण गरेसँगै युक्रेनले यी दुवै सत्य स्वीकार गरेको भन्ने बुझिएको छ।
रूसको चीनमाथि निर्भरता त छँदैछ, राष्ट्रपति सीसँग पुटिनको राम्रो व्यक्तिगत सम्बन्ध भएकाले चीनले पुटिनलाई युद्ध रोक्न मनाउन सक्छ भन्ने युक्रेनले ठानेको हुनुपर्छ।
त्यस्तै, नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतिको चुनावमा रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्न सक्ने सम्भावनाका कारण पनि युक्रेनले अहिले चीनको भूमिका खोजेको हुन सक्छ।
ट्रम्प राष्ट्रपति हुँदा पुटिनका प्रशंसक थिए। राष्ट्रपति नहुँदा पनि अमेरिकाले युक्रेनलाई हतियार दिएर युद्ध लम्ब्याउन हुँदैन भनिरहेका छन्। आफूले चुनाव जिते, २४ घन्टाभित्रै युद्ध रोकिदिन्छु भनेर दाबी गरिरहेका छन्।
ट्रम्पका भनाइलाई युक्रेनले यसरी बुझेको छ — युक्रेनलाई हतियार नदिने र पुटिनको सर्तअनुसार शान्ति सम्झौता गर्न लगाउने।
रूसले युक्रेन कब्जा गरे वा हाबी हुने खालको शान्ति सम्झौता भयो भने पुटिनले युरोपका अरू देशमा पनि धावा बोल्छन् भनेर अहिले युरोपेली देशहरू सहमत देखिन्छन्। त्यसैले ट्रम्पले हतियार नदिए पनि युरोपेली देशहरूले युक्रेनलाई भरमग्दुर सहयोग गर्नेछन्। सहायता अहिलेको भन्दा झन् बढाउने छन्। तर अमेरिकाले सहयोग रोकेको अवस्थामा युरोपको जति सहयोग भए पनि, युद्ध केही समय लम्ब्याउन वा मत्थर पार्न मात्र सकिन्छ भन्ने युक्रेनको बुझाइ छ। लामो समयसम्म रूसलाई रोक्न सकिँदैन भनेर युक्रेनले बुझेको छ।
अर्कातिर ट्रम्पले फेरि राष्ट्रपति जितेमा युक्रेनलाई असहज हुनेछ। यो अप्ठ्यारो कम गर्न पनि युक्रेनले अहिल्यैदेखि चीनसँग सम्बन्ध बढाएको हुन सक्छ।
चीनले पनि साँच्चै पुटिनसँग कुरा गरेर गम्भीर रूपमा युद्ध रोक्न प्रयास गरेको हुन सक्छ। आफ्नो पहलमा रूस-युक्रेन युद्ध रोक्यो भने विश्वमा चीनको कद अझै बढ्ने छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend