पब्लिक सूचना
पेरिस ओलम्पिक २०२४ को पुरूष फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा अर्जेन्टिना र मोरक्कोबीचको खेल इन्जुरी समयमा २-२ बराबरी भएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आधिकारिक वेव पोर्टलमा पनि खेल २-२ गोलको बराबरीमा सकिएको उल्लेख थियो।
विवादित भएको खेलको दोस्रो हाफमा १६ मिनेट इन्जुरी समय थपिएको थियो। जुन इन्जुरी समयको अन्त्यमा अर्जेन्टिनाका मेडिनाले बराबरी गोल गरेका थिए। तर सो गोललाई लिएर मोरक्कोका खेलाडीले विरोध गरेका थिए भने कतिपय मोरक्कोका समर्थक मैदान प्रवेश गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थितितनावग्रस्त भएपछि खेलाडीहरूले मैदान छाडेका थिए। जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेल २-२ को बराबरीमा सकिएको उल्लेख गरेको थियो।
तर विरोधका कारण त्यतिबेला गोलको विषय रेफ्रीले निर्णय दिइनसकेको दुई घन्टा पछि मात्र थाहा भयो। मैदानको स्थिति तनावग्रस्त भएपछि आयोजकले सबै दर्शकलाई रंगशाला छाड्न समेत भनेको थियो।
दुई घन्टापछि मेडिनाले गरेको उक्त गोल भिडिओ असिस्टेन्ट रेफ्री (भिएआर) मार्फत् अमान्य रहेको घोषित गरिएको थियो। त्यसपछि तीन मिनेट बिनादर्शक खेल सञ्चालन गर्दा कुनै गोल भएन। जसका कारण अर्जेन्टिना खेलमा २-१ गोलले पराजित भयो।
खेलमा मोरक्कोले २-० गोलको अग्रता जोगाउन सकेन। मोरक्कोका लागि सौफियानले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दा ५१ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए।
अर्जेन्टिनाका लागि सिमोनले ६८ मिनेटमा गोल गर्दा खेल २-१ को अवस्थामा आएको थियो।
खेलपछि अर्जेन्टिनाका ओलम्पिक टोलीका प्रशिक्षक जाभियर मास्चिरानोले असन्तुष्टि व्यक्त गरेका छन्।
‘म प्रशिक्षक भएको धेरै भएको त छैन, तर खेलाडीको रूपमा मेरो करियरमा मैले त्यस्तो घटना कहिल्यै देखेको छैन,’ २००४ र २००८ मा अर्जेन्टिनाका लागि ओलम्पिकमा स्वर्ण जितेका मास्चिनोले भने, ‘यो खेल एक सर्कस जस्तै भयो। तर हामी खेलको नतिजालाई नियन्त्रण गर्न सक्दैनौं। मैले खेलाडीहरुलाई अब हामी अगाडिको खेलका लागि तयार हुनु पर्छ भनेको छु। हामी समूहमा बाँकी दुई खेल जितेर ६ अंकप्राप्त गर्ने प्रयास गर्नेछौं। यो कुरा मात्र हाम्रो नियन्त्रणमा छ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend