पब्लिक सूचना
काठमाडौँ, साउन ९ गते । सरकारले साउन ९ गते देखि १३ गतेसम्म काठमाडौँ उपत्यकाको तीन जिल्लामा पोलियोविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । काठमाडौँको टुकुचा खोलामा पोलियो भाइरस भेटिएसँगै सरकारले उपत्यकाका तीन जिल्लामा जन्मेका जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्षित बालबालिकालाई नछुटाउने उद्देश्यले तीनै जिल्लाका घर-घरमा गएर पोलियोविरुद्धको खोप लगाउने योजना रहेको जानकारी दिनुभयो । यो खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकाले आफ्ना बालबालिकालाई ढुक्कसँग खोप लगाउन डा. गौतमको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, “सरकारले प्रयोग गर्ने खोप विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तर प्रमाणित भएको र नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागमा दर्ता गरिएको हुँदा आफ्नो बालाबालिकालाई खोप ढुक्कसँग लगाउनुस ।”
नियमित खोपमा पोलियोको खोप दिइएको भए तापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिन डा. गौतमको सुझाव छ ।
पोलियो कस्तो रोग हो
डा. गौतमका अनुसार पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिने डा. गौतम बताउनुहुन्छ । उहाँका अनुसार यो रोग लाग्यो भने गम्भीर किसिमका लक्षण जस्तै पक्षघात हुनुका साथै बिरामीको मृत्यु समेत हुनसक्छ ।
उहाँका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्न सक्ने उहाँ बताउनुहुन्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने उहाँको भनाइ छ ।
चिकित्सकका अनुसार यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन आवश्यक छ ।
रोगबाट सुरक्षित हुने उपाय खोप
चिकित्सकका अनुसार यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय नै पोलियो विरुद्धको खोप हो । सरकारले बालबालिकालाई यो रोगबाट बचाउन राष्ट्रिय खोप तालिकाबाट पोलियो विरुद्धको नियमित खोपहरू दिँदै आएको छ ।
सरकारले पोलियो खोपहरू दुई प्रकारका छन् । मुखबाट खुवाइने ओपिभी खोप नियमित खोप सेवाको माध्यमबाट ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा) दिँदै आएको छ । सुईबाट दिइने आईपीभी खोप नियमित खोप सेवाको माध्यबाट २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा ) दिइरहेको छ ।
हालसम्म यो खोप पश्चात् सामान्यतया अवाञ्छित असरहरू देखिएका छैनन् । यद्यपि खोप लिएका बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श दिन चिकित्सकको आग्रह छ ।
कसले नलगाउने
डा.गौतमका अनुसार यो खोप सिकिस्त बिरामीहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका जस्तै एच आइ भी एड्सका लक्षण देखिएका, केमोथेरापी चढाइरहेका क्यान्सरका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बालबालिकाले लिनुहुँदैन ।
साथै सिकिस्त बिरामीहरू उच्च ज्वरो,कडा पखाला, तारन्तार वान्ता र अस्पतालमा भर्ना भएका बालबालिकालाई निको भइसकेपछि स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लिन डा. गौतमको अनुरोध छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend