पब्लिक सूचना
बाजुरा, साउन ८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ को नाइना पहिरोको उच्च जोखिममा छ । अविरल वर्षातका कारण गाउँको बिचमा पहिरो लागेपछि अहिले नाइनाको पुरै गाउँ बस्ती नै पहिरोको उच्च जाेखिममा परेको हो ।
गाउँ पहिरोको जोखिममा परेपछि बर्खाको समय घरमा बास बस्न निकै डर लाग्न थालेको खप्तड छेडेदह गाउँपालिका–३ नाइका स्थानीय शेरबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पाखो र भिरालो ठाउँमा रहेको यो नाइना गाउँ बस्तीको मुनी पहिरो लाग्न सुरु भएपछि बस्ती जोखिममा परेको छ ।
पाखो तथा भिरालो ठाउँका यी बस्तीका स्थानीयलाई बर्खाको समय घरमा बास बस्न निकै समस्या भएको छ । अविरल वर्षातका कारण कतै बस्तीमा पहिरो जान्छ की भन्ने डरले यहाँका स्थानीयलाई बर्खाको समय डरडरै रात काट्न बाध्य बनाएको विष्टले बताउनुभयो ।
दुई दर्जनभन्दा बढी घर रहेको यो नाइना पछिल्लो समय पहिरोको जोखिममा परेपछि अहिले यहाँका स्थानीयलाई कहाँ गएर बास बस्ने चिन्ता लाग्न सुरु भएको छ । उसो त चिन्ता नाइनाको मात्र होइन । खप्तड छेडेदह गाउँपालिका गुइबन, धुर्तोला, गाँर्जा, गोडडी पार्तोला लगायतका गाउँ बस्ती पनि पहिरोको जोखिममा छन् ।
गाउँ बस्ती पछिल्लो समय यसरी पहिरोको जोखिममा परेपछि अहिले यहाँका स्थानीयलाई पनि बर्खाको समय गाउँमा पहिरो लाग्छ की भन्ने चिन्ता छ । बर्खाको समय यहाँका स्थानीयलाई पनि डरै डरले रात काट्नु परेको छ ।
यस्तै हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बडिमालिका, बुढीगङ्गा त्रिवेणी नगरपालिका लगायतका सयौँ भन्दाबढी गाउँ बस्ती पनि पछिल्लो समय बाढीपहिरोको उच्च जोखिममा परेका छन् ।
बस्ती जोखिममा परेपछि अहिले यी बस्ती स्थानान्तरण भने कतै हुन सकेका छैन । यहाँका स्थानीयले बस्ती स्थानान्तरणका लागि धेरै पटक सरकार सँग माग राखेको भएपनि अझै बस्ती स्थानान्तरण भने हुन सकेका छैन ।
बाजुराका नौ वटै स्थानीय तहमा रहेका यी जोखिम गाउँ बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि यी बस्तीको तथ्याङ्क सङ्कलन गरी एक वर्ष पहिला नै गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend