logo
  • शनिबार, असोज १७ २०८३

इजरायली आक्रमणमा गाजामा कम्तीमा ४० जनाको मृत्यु


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १ २०८२

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने तयारीस्वरूप शनिबार ठूलो आक्रमण गर्दा कम्तीमा ४० जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। यो हमला २२ महिनादेखि जारी युद्धको निरन्तरता हो, जसले गम्भीर मानवीय संकट निम्त्याएको छ। इजरायलले हालै गाजा सहर कब्जा गर्ने निर्णय लिएको थियो, जसको हमासले कडा विरोध गर्दै यसलाई “क्रूर योजना” भनेको छ। गाजाको जितुन क्षेत्र अत्यन्तै नाजुक अवस्थामा पुगेको छ, जहाँ करिब ५०,००० मानिसहरू आधारभूत आवश्यकताबिना जीवन यापन गरिरहेका छन्। लगातार भइरहेका हवाई आक्रमणले स्थानीय जनजीवन भयावह बनाएको छ।

संयुक्त राष्ट्रका अनुसार गाजामा करिब १० लाख महिला र किशोरीहरू भोकमरी, हिंसा र जोखिमपूर्ण अवस्थाको सामना गरिरहेका छन्। उनीहरू खाना र पानीको खोजीमा ज्यानको जोखिम मोल्दै बाहिर निस्किन बाध्य छन्। पछिल्लो २४ घण्टामा भोक र कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ, जसमा एक बालक पनि छन्। भोकमरीबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन्। यता, शनिबार मात्र राहत लिन लाइनमा उभिएका १३ जनालाई सेनाले गोली चलाउँदा ज्यान गएको छ।

राहत सामग्री आपूर्तिमा पनि इजरायली अवरोध कायमै छ। मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरू गाजामा जीवनरक्षक सामग्री पठाउन असफल भएका छन्। जुलाई महिनामा मात्रै ६० भन्दा बढी राहत निवेदन अस्वीकृत गरिएको छ। संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्म राहत लिन गएका १,७६० जना गाजावासीको मृत्यु भएको छ। समग्रमा, अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १,२१९ इजरायली र ६१,८०० भन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ, भने १,५५,००० भन्दा बढी घाइते भएका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend